• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रुकुम पश्चिममा बोलेरो दुर्घटना हुँदा चालकसहित तीन जनाको गयाे ज्यान, तीन घाइते

समाचार

सुर्खेत । रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् । 

दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको ज्यान गएको रुकुम पश्चिम प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए । 

आइतबार साँझ खलङ्गाबाट बाँफिकोट जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो । तर उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन् । उहाँहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । 

बाँफिकोटमा फाइबर नेट विस्तार गर्न गएका उहाँहरु छिनखेतमा बस्दै आएका थिए । 

प्रतिकृया दिनुहोस