• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बत्तीसपुतलीमा सम्साँझै छुरा प्रहार गरी युवकको हत्या, चार जना पक्राउ

समाचार

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा शनिवार सम्साँझै बीच सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको छ । 

शनिवार साँझ करिब ७ : ५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएको थियो । 

छाती र ढाडमा गहिरो चोट लागेका धिमालको उपचारको क्रममा बेलुकी ८ : ४० बजे अस्पतालमै निधन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । 

‘घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसएसपी मैनालीले भन्नुभयो, ‘अहिले हत्यामा उहाँहरुको संलग्नताको विषय पुष्टि भइसकेको छैन् । नाम खुलाउन मिल्दैन ।’ 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस