समुदाय प्रहरी साझेदारी : यसरी सुरु भयो, यसरी फैलँदैछ
काठमाडौं । विभिन्न विद्यालयका बालबालिकालाई प्रहरी कार्यालय लगिन्छ । प्रहरीसँग उनीहरु घुलमिल हुन्छन्, प्रहरीले कसरी काम गर्छ, प्रहरीले देश र समाजका लागि के योगदान गरिरहेको हुन्छ भन्ने प्रत्यक्ष देख्छन् विद्यार्थीहरुले ।
त्यसैगरी सडकमा बेवारिसे मानिस हुन्छन् । खुला आकाशमा जीवन बिताइरहेकाहरुलाई प्रहरीले सुरक्षित आवासमा पुर्याएर राखिदिन्छ ।
यस्ता अनेकौं काम नेपाल प्रहरीले गरिरहेको छ । यस्ता काम ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत भइरहेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारी समालेपछि नयाँ अवधारणा सार्वकजनिक गरे –‘समुदाय प्रहरी साझेदारी ।’
११ कात्तिक ०७५ मा गृहमन्त्री रामबहादुर थापाले काठमाडौंबाट समुदाय प्रहरी साझेदारीको शुभारम्भ गरेका थिए । समुदाय प्रहरी साझेदारी कार्यक्रम नेपालमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमध्ये अहिलेसम्मकै वृहत् हो र सर्वाधिक प्रभावकारी पनि ठहरिएको छ । यो कार्यक्रम बोकेर नेपाल प्रहरी हजारौं विद्यालयमा पुगेको छ, सात सय ५३ वटै स्थानीय तहमा पुगेको छ । हजारौं वडामा पुगेको छ । समाजको विभिन्न वर्ग, समुदाय र तहतप्कामा पुगेको छ ।
यसअघि प्रहरीले ‘सामुदायिक प्रहरी’को नामले कार्यक्रम चलाएको थियो, त्योभन्दा पृथक अवधारणा साथ ल्याइएको ‘समुदाय प्रहरी साझेदारी’ अभियान छोटो समयमै देशभर फैलियो ।
समुदायसँग बसेर विकृति र विसंगसतिसँग लड्दै अपराध न्यूनीकरण गर्नमा यो कार्यक्रम प्रभावकारी ठहरिएको छ ।
नेपाल प्रहरी र स्थानीय तहबीच समझदारी गरेर साझा संयन्त्र मार्फत् सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुदाय प्रहरी साझेदारीको अवधारणा ल्याइएको बताउँछन् नेपाल प्रहरीका सह–प्रवक्ता (एसएसपी) उमेशराज जोशी ।
अवधारण थालनी भएको १४ महिना मात्र भएको छ तर यो छोटो अवधीमै कार्यक्रमले अद्भूत उचाइ हासिल गरेको छ ।
सात सय ५३ स्थानीय तह तथा साझेदारको रुपमा त्रिभुवन विश्वविद्यालयसँग समझदारी पत्रमा हस्ताक्षर गरेर प्रहरी प्रधान कार्यालयले संरचना निर्माण र कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।
सामुदायिक सुरक्षा साझेदारीमा स्थानीय तह, नेपाल प्रहरी, संघ संस्थाहरु, विद्यालय र समाजका लब्ध प्रतिष्ठित समाजसेवीहरुको सहभागिता छ ।
सामुदायिक सुरक्षाका लागि गाउँपालिका, वडा, टोल र विद्यालयमा २४ हजार ४ सय ८४ सुरक्षा समिति गठन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ती समितिले प्रहरीलाई सुरक्षा र अपराध अनुसन्धानमा सघाइरहेका छन् ।
नेपाल प्रहरीले अहिले हासिल गरेको कार्यकुशलता र जनविश्वाशमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको ठूलो योगदान रहेको मानिन्छ ।
साईबर बुलिङ र लागु औषध
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालयका प्रधानाध्यापकको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन पनि भइरहेको छ ।
अभियानको दौरानमा अहिलेसम्म चार हजार एक सय ६९ अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
लक्षित समूहलाई दिइने प्रशिक्षणमा एकरुपता ल्याउन छानिएका प्रहरी कर्मचारीलाई अभिमुखीकरण तालिम दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साइबर अर्थात् इन्टरनेटको माध्यमबाट गरिने हैरानी र धोकाधडी अहिले ठूलो सामाजिक समस्या बनेको छ । इन्टरनेट आधारित सामाजिक सञ्जालको माध्यमबाट जिस्काउने, होच्याउने, विभिन्न जीवजनावरसँग मानिसको फोटो जोडेर अपमानजनक तरिकाले पोष्ट गर्ने समस्या न्यूनीकरणका लागि प्रहरीले विद्यालय स्तरबाट चेतना जगाउन थालेको छ । यसका लागि सामुदायिक प्रहरीको टोली विद्यालयहरुमा गएर विद्यार्थीहरुसँग अन्र्तक्रिया गरिरहेको छ ।
साइबर बुलिङ बिरुद्ध जनचेतना जगाउन दुई हजार पाँच सय ४३ वटा कार्यक्रम गरिएको छ ।
साझेदारी अभियान अन्तर्गत प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको माध्यमबाट ‘साईबर सुरक्षा’ र ‘लागूऔषध नियन्त्रण’ बारे सचेत गराउन फिल्ड प्रशिक्षण समेत सञ्चालन गरिएको छ ।
फिल्ड प्रशिक्षणका लागि १० हजार ६ सय ३२ प्रहरी कर्मचारीलाई अभिमुखीकरण तालिम दिइएको समुदाय प्रहरी साझेदारी कार्यक्रमका प्रमुख समेत रहेका (एसएसपी) उमेशराज जोशीले बताए ।
सामुदायिक सुरक्षा पाठ्यक्रम
विद्यालयमा सामुदायिक सुरक्षा सचेतना बढाउन सामुदायिक सुरक्षा पाठ्यक्रम विकास गरिएको छ । कक्षा १२ सम्मका विद्यार्थीका लागि पाठ्यक्रम विकास गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले जनचेतनामूलक सामग्री निर्माण गरेर सबै जिल्ला तथा गाउँपालिकाका प्रहरी युनिटमा पठाएको छ । जसमा ४८ वटा भिडीयो र पिएसए प्रसारण भइरहेका छन् ।
घरेलु हिंसा, दाइजो बालविवाह, साइबर अपराध, सडक सुरक्षा, चिठ्ठा ठगी, महिला तथा बालिबालिकाको सुरक्षा सम्बन्धी भिडीयो समुदाय र प्रहरी युनिटमा देखाउन अनिवार्य गरिएको छ ।
डिजिटल रिसोर्स सेन्टर
समुदायसँग नजिक भएर अपराध न्यूनीकरणका लागिसहकार्य गर्न प्रहरी प्रधान कार्यालयले आन्तरिक इन्ट्रानेट ‘नेपाल डट सिडी’मा डिजिटल रिसोर्स सेन्टर स्थापना गरेको छ ।
साझेदारी बारे महत्वपूर्ण सामग्री, निर्देशन र उत्कृष्ट अभ्यासबारे प्रहरीका ९८ इकाइको सहज पहुँच हुने गरी डिजिटल रिसोर्स सेन्टर स्थापना गरिएको हो ।
समुदायसँगको सहकार्यमा १ साउन ०७५ यता देशभर दुई हजार नौ सय ८६ वटा सिसिटिभी जडान गरिएको छ । सिसिटिभी जडानले अपराध नियन्त्रण र अनुसन्धानमा ठूलो मद्दत पुगेको छ ।
सेवाग्राहीका लागि सन्देशमूलक सामग्री प्रसारण गर्न विभिन्न प्रहरी कार्यालय परिसरहरुमा एक सय ५६ वटा एलइडी टेलिभिजन स्क्रिन जडान गरिएको छ ।
कार्यालय परिसरमा रहेका स्क्रिनबाट प्रसारित सामग्रीबाट १६ लाख ४७ हजार दुई सय ९५ सेवाग्राही लाभान्वित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साझेदारी अभियान सुरु भएपछि पाँच सय ९४ वटा जिल्ला स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।
प्रहरीसँग एक दिन
विद्यार्थीलाई प्रहरीसँग परिचित गराउँदै नागरिक सुरक्षामा प्रहरी सेवाको महत्व थाहा दिन प्रहरीका युनिटहरुमा विद्यार्थीलाई भ्रमण गराइन्छ ।
यसका साथै प्रहरीको दैनिक कार्यमा विद्यार्थीहरुलाई प्रत्यक्ष सहभागी गराइन्छ । प्रहरी सेवाप्रति विद्यार्थीहरुको सकारात्मक धारणा विकास गर्न ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सञ्चालन गरिएको हो । विद्यार्थीहरु माझ प्रहरीसँग एक दिन कार्यक्रम एक हजार ८७ वटा भइसकेको छ ।
साझेदारी कार्यक्रमकै ब्यानरमा पछिल्लो समय प्रहरीले काठमाडौंका सडकमा रहेका एक सय ९४ जना मानिसको उद्धार गरेको छ । सडकको चिसोमा कष्टपूर्ण जीवन बिताइरहेका वृद्धवृद्धा र बालबालिकालाई उद्धार गरेर विभिन्न सेल्टरमा राख्ने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस