अनलाइन चिठ्ठाको आवरणमा ठगी गर्ने गिरोह पक्राउ
काठमाडौं । अनलाइन चिठ्ठा परेको भन्दै सर्वसाधारण ठग्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुले ह्वाट्सएप, इमो र भाइबरमा चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई मेसेज पठाउने गरेका थिए । साे मेसेजकाे जवाफ दिनेलाई गिरोहले फोन गर्दै चिठ्ठामा परेका उपहार भन्सारमा आइसकेको र भन्सार छुटाउन आवश्यक पैसा पठाउन अनेक तरिका अपनाउने गरेका थिए ।
साे क्रममा सर्वसाधारणलाई विश्वास दिलाउन फोनमा हिन्दी भाषामा बोल्दै सामान भन्सारमा आइसकेको बताउने गरेका थिए । यस्तै ती समानमा विदेशी मुद्रा तथा बहुमुल्य सामान भएको र त्यसको भन्सार रकम पठाउन आग्रह गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको हाे ।
यसरी ठगी गरेको आरोपमा पक्राउ पर्नेमा हाडीगाउँ बस्ने २९ वर्षिय अलंकार जैन, बालाजु बस्ने ४० वर्षिय सुशिल गुरुङ र सतुंगल बस्ने २८ वर्षिय शर्मिलाकुमारी श्रेष्ठ रहेका छन् । यस्तै भारत घर भई हाल क्षेत्रपाटी बस्ने ४९ वर्षिय नविन अग्रवाल र बौद्ध बस्ने ५२ वर्षिय आनन्द अग्रवाल रहेका छन् ।
प्रहरीले यो घटनामा प्राविधिक विश्लेषण गर्दै सुक्ष्म अनुसन्धान पश्चात यी पाँचजनालाई पक्राउ गर्न सकेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस