• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सशस्त्र प्रहरी परिचालन

सनराइज खबर संवाददाता

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले शनिबार काठमाडाैंमा पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ ।

२३औं स्थापना दिवसको अवसर पारेर एक साता अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको सशस्त्रले जानकारी गराएकाे हाे । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता राजेन्द्र खड्काका अनुसार त्रिभुवन सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली परिचालन हुने गरी सो बेस स्थापना गरिएको हाे ।

विपद्जन्य घटनामा तत्काल परिचालन हुने गरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्रले जनाएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देयअनुरुप संस्थागत कार्यलाई विस्तार र निरन्तरता दिई शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गरेकाे पनि पत्रकार सम्मेलनमा सशस्त्रले जानकारी गराएकाे छ ।

नेपाल एपीएफ अस्पतालबाट प्रदान गरिने सेवा सुविधाहरू सहज, सुलभ र विस्तार गर्दै लगिएको सशस्त्रले जनाएकाे छ । इन्स्टिच्यूट अफ हेल्थ साईन्सेस स्थापना गरी पीसीएल नर्सिङ कक्षा सञ्चालनका लागि समेत आवश्यक तयारी अन्तिम चरणमा पुगेको सशस्त्रले जनाएकाे छ । एपीएफ अस्पताल 'विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका, २०८०' अन्तर्गत हेमोडाईलाईसिस सेवा प्रदान गर्नका लागि सूचिकृत भएको जानकारी गराइएको छ । 

प्रतिकृया दिनुहोस