• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

मालीमा शान्ति मिसन बन्द भयाे, नेपाली सेनाकाे टाेली स्वदेश फर्कियाे

सनराइज खबर संवाददाता

काठमाडाैं । संयुक्त राष्ट्रसंघको आह्वानमा मालीमा शान्ति स्थापनार्थ खटिएको नेपाली शान्ति सेनाको टोली स्वदेश फर्किएको छ ।

संयुक्त राष्ट्रसंघले मालीमा शान्ति मिसन बन्द गरेपछि नेपाली शान्ति सेनाको नवौँ डफ्फा बिहीबार स्वदेश फर्किएकाे हाे । मालीमा शान्ति मिसनका लागि प्रमुख सेनानी चित्रकुमार कार्कीको कमाण्डमा खटिएको ८१ जनाको टोली हातहतियार बन्दोबस्तीको सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानमार्फत् स्वदेश फर्किएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

नेपाली सेनाको १ सय ६८ जनाको टोली मालीमा कार्यरत थियो । टोलीका बाँकी सदस्य पनि स्वदेश फर्कने क्रममा रहेको नेपाली सेनाले जनाएको छ ।

मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसंघको निर्णयअनुरूप नेपाली सेनाको टोलीमा रहेका १ सय ५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरत समेत १ सय ६८ जना सकल दर्जा स्वदेश फिर्ता हुने क्रममा पहिलो टोली आज नेपाल आइपुगेको हो ।

नेपाल संयुक्त राष्ट्रसंघको शान्ति स्थापनाका लागि विश्वभर तैनाथ मिसनमा फौज उपलब्ध गराउने सदस्य राष्ट्रको दोस्रो वरीयतामा छ । अहिले नेपालबाट ५ सय ८२ महिला शान्ति सैनिकका रूपमा खटिएका छन् । जसमा महिलातर्फ शान्ति सेनामा सबैभन्दा ठूलो सहभागिता भएको निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस