प्रतिगुप्तचरी गर्ने विधेयक विरुद्ध उभियो कांग्रेस
काठमाडौं । नेपालले पनि रअ, सिआईए जस्तै गुप्तचर संस्था बनाउने कामको विरुद्धमा उभिएको छ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस । सरकारले नेपालमा क्रियाशील विदेशी गुप्तचर तथा विदेशमा पनि नेपालको हितमा गुप्तचरी गर्ने उद्देश्यले एक विधेयक राष्ट्रिय सभामा लगेको छ ।
नेपालले पनि आफ्नो हितमा प्रतिगुप्तचरी गर्ने प्रावधान राखेर ल्याइएको विशेष सेवा विधेयक अगाडि बढाइए कडा सडक आन्दोलन गर्ने चेतावनी कांग्रेसले दिएको हो । यस सम्बन्धमा कांग्रेस केन्द्रीय कार्यसमितिले निर्णय समेत गरेको छ । कांग्रेसको निर्णयमा लेखिएको छ–
‘नागरिकको गोपनियताको हक समेत हनन् गर्ने गरी संविधानको मर्म र भावना विपरित नागरिक स्वतन्त्रताका विरुद्धमा सरकारले राष्ट्रिय सभा मार्फत अघि बढाउन खोजेको विधेयकलाई गम्भीरतापूर्वक लिदै यो बैठक त्यसलाई तत्काल फिर्ता लिन सरकार समक्ष माग गर्दछ । जनविरोधी विधेयकलाई जर्वजस्ती अघि बढाउन खोजिए संसद तथा सडकमा समेत त्यसका विरुद्ध नेपाली कांग्रेस दृढतापूर्वक उभिने निर्णय यो बैठक गर्दछ ।’
याे पनि पढाैं- रअ र सिआईएले जस्तै नेपालले पनि विदेशमा जासूसी गर्ने
कांग्रेसको निर्णयमा प्रतिगुप्तचरीको भने विरोध गरिएको छैन । तर, नागरिकताको गोपनीयताको हक हनन भयो भन्दै कांग्रेसले प्रतिगुप्तचरी संयन्त्र बनाउने कामको अप्रत्यक्ष विरोध गरेको छ ।
यस अघि कांग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँडले पनि विज्ञप्ति जारी गरेर विशेष सेवा विधेयकको विरोध गरिसकेका छन् ।


प्रतिकृया दिनुहोस