बारामा जलाउँदै गरेकाे शव प्रहरी नियन्त्रणमा
बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाएको अाशंकामा प्रहरीले नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।
श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यस बारे बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको शव जलाउँदै गरेको खुलेपछि शव नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताए ।
शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटना बारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।
मृतकको माइती भारतकाे मोतिहारी जिल्लाको जुयाफर हो । माइती पक्षले नै सो घटनाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो ।
तराईका जिल्लामा दाइजोका कारणले नै श्रीमतीलाई मार्ने गरेका कयौँ उदाहरण भेटिन्छ ।


प्रतिकृया दिनुहोस