शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सात जना पक्राउ
काठमाडौं । एमबीबीएस अध्ययनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा थप ७ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको 'फोक्सट्रोट चार्ली' नामक अप्रेसनमा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले उनीहरुलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी, एमडी अध्ययनको तयारी गरेकी काठमाडौंकी २९ वर्षीया एरिना शाह छन् ।
इसान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाडौंका २८ वर्षीया पुनम थापा, वाग्मती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर छन् ।
प्रहरीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरलाई पत्राचार गरी यकिन गरी नक्कली भएको आधारमा पक्राउ गरी अनुसन्धान गरेको हो ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार शैक्षिक योग्यतामा अंक वास्तविक भन्दा थपघट गरी काम गरिरहेको र पढिरहेकाले पक्राउ गरिएको हाे । पक्राउ परेका सातै जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युराेले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस