कृषि विकास बैंक ह्याक गर्ने समूहबाटै अनलाइन ठगी
काठमाडौं । सीता राई (नाम परिवर्तन) लाई फेसबुकमा अपरिचित विदेशीले मेसेज गरे । उनले जवाफ फर्काउँदै गइन् । आफूलाई बेलायती नागरिक बताउने स्मिथ मोरिस र सीताको ‘च्याटिङ’ वर्षदिन चल्यो ।
सामाजिक सञ्जालमार्फत् एक वर्ष कुरा भएपछि स्मिथले भने– ‘मलाई बेलायत बस्दा वाक्क लागिसक्यो, नेपाल घुम्न आउँछु ।’
बेलायती साथी नेपाल आउने कुराले सीता खुसी भइन् । नेपाल आउनुअघि स्मिथले पार्सल पठाएको र भन्सारबाट फोन आउने जानकारी गराए ।
त्यसपछि सीतालाई नयाँ दिल्ली भन्सार कार्यालयबाट फोन गरेको भन्दै हिन्दी भाषामा एक महिलाले फोन गरिन् । उनले भनिन्– ‘लण्डनबाट सामान आएको छ, भन्सार क्लियर गर्न पैसा पठाउनुहोला ।’
नयाँ दिल्ली भन्सार कार्यालयले भने बमोजिम सीताले केही रकम रमेश खड्काको खातामा हालिन् ।
पार्सलमा २० हजार पाउण्ड स्टर्लिङ समेत रहेको र त्यसबापत् रिजर्व बैंक अफ इन्डियालाई समेत पैसा बुझाउनुपर्ने भन्दै उनलाई अर्को फोन आयो । रिजर्व बैंक अफ इन्डियाबाट फोन गर्नेले पनि सीतालाई दोलखा घर भएका रमेशको खातामा पैसा डिपोजिट गर्न भनिन् ।
भनिन्छ नि ‘लोभले लाभ, लाभले बिलाप ।’
करोडौं मूल्यको सामान र बेलायती २० हजार पाउण्ड स्टर्लिङ पाउने लोभमा उनले सात लाख ४० हजार रुपैयाँ पठाइन् ।
सामान पठाउने मान्छे मात्र हैन, रिजर्व बैंक अफ इन्डिया र भन्सारबाट फोन गर्नेहरु पनि सम्पर्क विहिन भएपछि सीताले महानगरीय अपराध महाशाखामा उजुरी दिइन् ।
सीताको जाहेरीपछि प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानबाट खुल्यो उनले पैसा जम्मा गरेकी खातावाल रमेश खड्का नाइजेरियाका पिटर उर्फ ‘काले’ का नेपाल एजेण्ट रहेछन् । नाइजेरियाका पिटर हर्मेन असेंगा ‘काले’ को समूहले गत असोज पहिलो साता कृषि विकास बैंक र पानस रेमिटबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी गरेका थिए ।
‘बैंकको कोर सिस्टममा प्रवेश गरेर रकम चोरी गर्ने पिटरले नेपाली एजेण्ट प्रयोग गरेर अनलाइन मार्फत् पनि ठगी गर्ने गरेको खुलेको छ’ – महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा भन्छन्– ‘अहिले पक्राउ परेका तीनजना पिटरका एजेण्ट हुन् । उनीहरु अनलाईनमार्फत् ठगी गर्न प्रयोग भएका हुन् ।’
अपराध महाशाखाले बुधबार दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र नवलपरासीकै सन्दीप कलवारलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
सोसल मिडिया भाइबर, ह्वाट्स एप, इमो र फेसबुकको माध्यमबाट अनेक प्रलोभन देखाएर ठगी गर्ने पिटरको समूहले रमेश खड्काको समूहलाई ठगीको २० प्रतिशत रकम दिने गरेको पाइएको छ ।
उनीहरुले नेपालबाट ठगी गरेको १७ करोड रुपैयाँ भारतमा बस्ने पिटरलाई पठाइसकेका छन् । रमेश जस्तै ४० जना एजेण्टहरु नेपालमा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।
प्रहरीकाे सम्पर्कमा आएका १४ जनासँग याे समूहले कूल ७२ लाख ७९ हजार ठगी गरिसकेकाे प्रहरीले जनाएकाे छ ।
नौ वर्षदेखि ठगी
सन् २०१० मा पिटर नेपाल आएका थिए । त्यतिबेला उनी ठमेलमा रमेश खड्काले चलाएको बुद्ध होटलमा बसेका थिए । अहिले रमेशले सो होटलको नाम परिवर्तन गरेर ‘ठमेल खाजा घर’ बनाएका छन् ।
त्यहि बेलादेखी नै पिटरले रमेशलाई एजेण्टको रुपमा प्रयोग गरेका थिए ।
दिल्ली, मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया र बेलायतमा बसेर नेपालका बैंक तथा वित्तीय संस्था ह्याकिङ र अनलाइन ठगी गर्ने पिटरको गिरोहले करोडौं रकम चोरी गरेको प्रहरीले जनाएको छ ।
‘अहिले कति रकम चोरियो भनेर ठम्याउन सक्ने अवस्थामा हामी पुगिसकेका छैनौं’ – पिटर गिरोहबारे अनुसन्धान गरिरहेका डीएसपी दुर्गा दाहाल भन्छन्– ‘पिटरको समूहले नेपालका धेरै बैंक तथा वित्तीय संस्थाहरुबाट रकम चोरेको हुनसक्छ, चोरी रकमबारे अनुसन्धान गर्दैछौं ।’
रमेशसहित तीन नेपाली एजेण्टले १७ वटा बैंक प्रयोग गरेर ठगीको रकम भारतमा पठाएका छन् ।
अनलाइनमार्फत् पार्सल र चिठ्ठाको नाममा ठगिएको भन्दै १५ जना पीडितहरुले अपराध महाशाखामा उजुरी दिएका छन् ।
बैंक खाताको दुरुपयोग
कृषि विकास बैंक चोरीमा पक्राउ परेका नुवाकोटका लवाङ तामाङले आफ्नो र माइजुको खाताको विवरण खम्ब घलेलाई दिएका थिए । पिटरका एजेण्ट खम्बलाई खाता नम्बर दिएको केही दिनमा नै लवाङको खातामा लाखौं पैसा जम्मा भएको थियो । सो रकम पिटरले कृषि विकास बैंकको सिस्टममा प्रवेश गरेर लवाङको खातामा ट्रान्सफर गरे ।
खम्बले योगेश तामाङ र पचल तामाङको खाता पनि पिटरलाई दिएका थिए ।
रमेशले पनि निरज बराल, बुद्धिमान श्रेष्ठ र आफ्नो खाता नम्बर पिटरलाई दिएका थिए । पिटरले रमेश र धादिङका खम्बले दिएको खातामा बैंकको सिस्टम ह्याक गरेर पैसा ट्रान्सफर गर्थे । खातामा रकम जम्मा गर्न दिएकाहरुले २० प्रतिशत रकम पाउने गरेका थिए ।
कृषि विकास बैंक भजनी शाखाबाट विजयकुमार शाह र चन्द्र बुढाको खातामा ट्रान्सफर भएको पैसा बोर्डरबाट मुम्ताज अलीले लगेका थिए । अली पनि पिटरका भारतीय एजेण्ट हुन् ।
महानगरीय अपराध महाशाखाले पिटरको गिरोहले प्रलोभन देखाएर बैंक खाताको दुरुपयोग गर्ने भन्दै त्यसरी अरुलाई आफ्नो बैंक खाता प्रयोग गर्न नदिन आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस