आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाइँदै
काठमाडाैं । आज सेना दिवस, नेपाली सेनाले देशभर विभिन्न कार्यक्रम गरी महाशिवरात्री एवं सेना दिवस मनाउँदैछ ।
साे अवसरमा काठमाडाैंकाे सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम हुँदैछ । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
शिवरात्री तथा सेना दिवसकै अवसरमा टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुनेछ । उहाँ सेनाकाे परमाधिपति हुनुहुन्छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुहुनेछ ।
हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।
नेपाली समाजमा लोकप्रिय रहेको मादलको यही फागुन ४ गते विश्व कीर्तिमान कायम भएको प्रमाणपत्र पनि मुख्य समारोहपछि सेनालाई त्यही हस्तान्तरण गर्ने कार्यक्रम छ । जंगीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको संगठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हुनुहुन्छ ।


प्रतिकृया दिनुहोस