• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अवैध सम्पत्ति कमाउने नासु यादवसहित नाै विरुद्ध मुद्दा

सनराइज खबर संवाददाता

काठमाडौं । मालपोत कार्यालय सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तासहित नाै जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तालाई पदको दुरुपयोग गर्दै अवैध सम्पत्ति आर्जन गरेकाे आराेपमा पक्राउ गरेकाे थियाे । अस्वाभाविक रुपमा उच्च जीवनयापन गरिरहेका यादव विरुद्ध आयाेगले मुद्दा दायर गरेको छ ।

गुप्ता ०४७ असार २७ बाट मालपोत कार्यालय मुस्ताङबाट खरिदारको पदमा सेवा प्रवेश गरी ०६४ सालमा नायव सुब्बाको पदमा बढुवा भएका थिए । मालपोत कार्यालय पर्सा हुँदै सिमरामा आइपुगेका हुन् ।

अनुसन्धानको क्रममा ०४७ सालको सुरुवाती कार्यकाल बाट ०७५–०७६ सालसम्मको निजको पारिश्रमिक हेर्दा कूल चार करोड ५४ लाख ७२ हजार बराबरको रकम वैध रुपमा आर्जन गरेको देखिन आएको छ भने त्यसबाहेककाे १४ करोड ८१ लाख ८९ हजार बराबरको रकम अवैध देखिन आएको आयाेगले जनाएकाे छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गुप्ताले अवैधरुपमा आर्जन गरेकाे सम्पत्ति परिवार तथा  आफन्तका नाममा समेत राखेका थिए ।

गुप्ताविरुद्ध आयाेगले भ्रष्टाचार निवारण ऐन ०५९ अनुसार बिगो जफतका साथै दुई वर्ष कैद सजायको माग दाबी गरेको छ ।

यसैगरी गुप्तालाई अवैध रकम लुकाउन सहयाेग गर्ने उनकी श्रीमती रिता देवी, छोराहरु विक्कि र रक्किका साथै  आफन्तहरु कविताकुमारी, निरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवविरुद्ध पनि अवैध धन जफत् गर्न विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिकृया दिनुहोस