• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

पोल्याण्डको यात्रा बाकुमा रोकियो, २८ युवाको बिचल्ली 

राजेश भण्डारी

काठमाडौं । त्रिभुवन विमास्थलबाट २८ जनाको टोली विमानमा उड्यो । गत ८ साउनको कुरा हो यो । टोलीको गन्तव्य थियो युरोपेली मुलुक पोल्याण्ड । 

विमानमा २८ जना मात्र उडिरहेका थिएनन् । साथमा उनीहरुको घरखेत पनि उडिरहेको थियो । सबैजना ऋण लिएर गन्तव्य पोल्याण्डमा उडिरहेका थिए ।

विमान अवतरण गर्‍यो दुबईमा । त्यसपछि अर्काे विमान चढे । विमान ओर्लियो पूर्व सोभियत गणराज्य अजरवैजानको राजधानी बाकुमा । विश्वकै सुन्दर सहरमध्ये हो बाकु । तर, बाकु उनीहरुको गन्तव्य थिएन । पोल्याण्डको राजधानी वार्सा थियो गन्तव्य । 

बाकु ओर्लिएका २८ जनामध्ये एक थिए चितवनका सुमित चौधरी । उनले गाउँको सहकारीबाट ऋण लिएका थिए पोल्याण्ड पुग्नलाई । 

सहकारीबाट लिएको १२ लाख रुपैयाँ ‘पोल्याण्ड पठाउन सक्छु’ भन्ने व्यक्तिलाई बुझाउँदा उनको मन फुरुंग थियो । युरोपको पोल्याण्डमा काम गरेर सजिलै ऋण तिर्न सक्छु भन्ने थियो सुमितलाई ।

अजरबैजानमा उनीहरुको दिन बित्न थाल्यो । पोल्याण्ड उड्ने प्रतिक्षामा आकुल व्याकुल भएको २८ जनाको टोलीले तीन महिना बितायो । त्यसपछि त्यो दिन आइपुग्यो । त्यो दिन अर्थात्, पोल्याण्ड लैजान्छौं भनेर रकम हात पार्नेहरु वेपत्ता हुने । 

त्यसपछि आफूसँगै गएका साथीसँग सुमित नेपाल फर्किए । केही चाहिँ बाकुमै अलपत्र बसिरहे। 

‘ऋण गरेको १२ लाख गुमाएँ’ – मानव वेचविखन अनुसन्धान ब्यूरोमा आफूलाई ठग्नेको रिपोर्ट गर्न पुगेका सुमितले भने– ‘भरखरै चितवनको जग्गा बेचेर सहकारीको ऋण चुक्ता गरियो ।’
सुमितसँगै पोल्याण्ड हिँडेका थिए बाग्लुङका दिपेन्द्र भण्डारी र गुल्मीका कृष्ण भण्डारी पनि । ‘हामीसँग गएका धेरै साथी उतै छन्’ – कृष्ण भण्डारी भन्छन्–‘ती साथीहरुको त्यहाँ बिचल्ली छ, हामी निकै ठूलो संघर्षपछि नेपाल फर्कियौं ।’ 

इटहरीका संगीत चौधरीको गिरोहले उनीहरुलाई पोल्याण्ड लाने भनेर अजरबैजानमा पुर्‍याएर अलपत्र पारेका थिए ।

‘पोल्याण्ड सपना’ को पछि लाग्दा ठगिएकाहरुले मानव वेचविखन अनुसन्धान ब्युरोमा संगीत चौधरी र उनको समूह विरुद्ध उजुरी गरेका छन् । 

तर, रकम दिएको प्रमाण नहुँदा पक्राउ गरेर कानुनी दायरामा ल्याउन समस्या हुने बताउँछन ब्यूरोका एसपी गोविन्द थपलिया । 

अध्यागमनमा ट्राभलको सेटिङ !

मानव तस्कर गिरोहले अध्यागमनमा सेटिङ मिलाएर आकर्षक कमाई हुने भन्दै धेरै नेपाली युवा युवतीलाई विदेशमा बिचल्ली पारिरहेका छन् । विश्वस्त आधार बिना नेपालीलाई विदेश जान नदिने सरकारी नीति छ । तर, कडाई गर्ने यही सरकारी नीति नै कर्मचारीहरुको ठगी खाने मेलो बनेको छ ।

तर, विभागका कर्मचारीले ट्राभल्स संचालकसँग आर्थिक लाभ लिएर अध्यागमनको डेस्क क्रस गराउने गरेका छन् ।

सुमित चौधरी सहित २८ जना युवाको पासपोर्टमा ठग गिरोहले दुबईको पर्यटक भिसा लगाइदिएका थिए । अध्यागमनले विश्वश्त आधार बिना टुरिष्ट भिसामा विदेश जानेहरुलाई समेत कडाइ गरेको छ । तर, मानव तस्कर र ठग गिरोहले शिकार अर्थात् रकम बुझाउने युवायुवतीलाई सजिलै अध्यागमनबाट छिराउने गरेका छन् । नत्र सुमित सहितको टोली बाकु पुग्दैनथ्यो । 

‘२४ जुलाईमा जाँदा त्रिभुवन विमानस्थलस्थित अध्यागमन डेस्कमा हामीलाई एकछिन रोकेको थियो’ –कृष्ण भण्डारी भन्छन्– ‘हामीले ट्राभल संचालक दिनेश चापागाईंलाई फोन गरेको केही मिनेटमै त्यहाँका कर्मचारीले दुबइको पास दिएर भित्र पठाए ।’

एयरपोर्ट सेटिङ गर्ने दिनेश चापागाईं प्रगति ट्राभल्स एण्ड टुर्सका संचालक हुन् । 

ठग गिरोहले नेपालको अध्यागमनमा मात्रै होइन, दुबई र अजरबैजानको अध्यागमनमा समेत सेटिङ चलाउने गरेका छन् । 

‘अजरबैजानको इमिग्रेसनमा पहिले हामीलाई साइड लाग्न भनियो’ – पीडित कृष्ण भन्छन्– ‘एकछिनमा सविर हुसेन नाम बताउने पाकिस्तानी आए । हामीलाई लिएर गए ।’ 
अजरबैजानमा सविर हुसेनको ‘युसिफ’ नामको ट्राभल एजेन्सी रहेको पीडितहरु बताउँछन् ।

उनै युसुफले २८ जना नेपाली युवालाई ‘अंग्रेजी भाषा सिक्न आएको’ भनेर अजरबैजानको वेस्टर्न क्यास्पियन युनिभर्सिटीमा भर्ना गरिदिए । 

‘हामी त्यो युनिभर्सिटीको होस्टलमा साढे तीन महिना बस्यौं’ – पीडितमध्येका दिपेन्द्र भन्छन्– ‘घरबाट पैसा मगाएर तिर्दा तिर्दा हैरान भएपछि नेपाल फर्कियौं, पोल्याण्ड पुग्ने सपना अधुरै रह्यो ।’ 

डेढ सय अलपत्र 

संगीत चौधरीको गिरोहले अजरबैजान पु¥याएका मध्ये हुन् सन्तोष अधिकारी । पीडितहरुले आधा रकम (६ लाख) अजरबैजान पुगेपछि उनै सन्तोष र पाकिस्तानी नागरिक सविर हुसेनलाई बुझाएका थिए । 

अर्थात्, अजरबैजान जाने युवा बनाएर सन्तोषलाई गिरोहले पीडितहरु बीच घुसाएको थियो । पीडितहरुका अनुसार सन्तोष पनि गिरोहकै एक सदस्य हुन् । सो गिरोहले यी २८ बाहेक अन्य धेरैलाई अजरबैजान पुर्‍याएर बिचल्ली बनाएको पीडितहरु बताउँछन् । 

‘यो समूहले पठाएका करिब डेढ सय नेपाली अलपत्र परेको हामीले देख्यौं’– पीडित कृष्णले भने । 
 

प्रतिकृया दिनुहोस