• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भारतीयलाई नागरिकता दिने सहायक सीडीओसहित ६ विरुद्ध मुद्दा 

सनराइज खबर संवाददाता

काठमाडौं । भारतीयलाई नागरिकता दिलाउने जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसहित ६ जना विरुद्ध मुद्दा परेको छ ।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

तत्कालिन सहायक सीडीओ पौडेलले झुटा विवरणको आधारमा भारतीय नागरिक अजहर हुसेन र आरिफ हुसेनलाई बंशजको नागरिकता दिएका थिए ।
 
साविक वीरगञ्ज उप–महानगरपालिकाको बसाइँसराइँको सरकारी कागजातमा घरमुलीको विवरण सच्याएको र वडाको सिफारिस पनि केरमेट गर्दै झुटा विवरणको कागजातको आधारमा उनीहरुलाई ती अधिकारीहरुले वंशजको नागरिकता दिएको आयोगले जनाएको छ । 

नागरिकता दिने कार्यमा संलग्न वीरगञ्जका शेष अब्बास, जिप्रका पर्साका नासु चन्द्रदेव ठाकुर र प्रशासकीय अधिकृत सदनकुमार कर्ण विरुद्ध सजाय गर्न आयोगले मागदाबी गरेको छ ।
 
आयोगले आरिफ हुसेन र सवरुन खातुनको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरमा सजाय गर्न मागदाबी गरेको छ । 

प्रतिकृया दिनुहोस