• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पठाओका ‘राइडर’ लाई ट्राफिकको कारबाही 

सनराइज खबर संवाददाता

काठमाडौं । ट्राफिक प्रहरीले ‘प्रयोजन विपरित’ यात्रु ओसारेको अभियोगमा पठाओ चालकलाई कारबाही गरेको छ । आइतबार पठाओका चालक विकास तामाङलाई महानगरीय ट्राफिक प्रहरी वृत स्वयम्भुले कारबाही गरेको हो । 

बा७७प ८१९९ नम्बरको मोटरसाइकलमा यात्रु ओसारेको आरोपमा ट्राफिक प्रहरी जवान विजय मण्डलले पठाओ चालकलाई कारबाही स्वरुप चिट थमाएका थिए । 

पठाओ चालकलाई थमाएको चिटमा ‘प्रयोजन विपरित’ सवारी चलाएको चार्ज लगाइएको छ । सो कसुरमा २ सय देखि १ हजारसम्म जरिवाना हुन्छ । 

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले पठाओ वा टुटल भनेर छानेर कारबाही नगरेको बताए । तर, प्रयोजन विपरित सवारीमा मान्छे ओसार्न निजी सवारीले नपाउने पनि उनले बताए । 

‘हामीले नियम उल्लंघन गर्नेलाई कारबाही गर्छौं, अरु कुरा हामीसँग सम्बन्धित छैन’ – एसएसपी ढकालले भने– ‘ट्रकले मान्छे बोकेर हिँड्यो भने कारबाही हुन्छ, हामी यातायात व्यवस्था नियम कार्यान्वयन गर्न हिजो पनि लागेका थियौं, अहिले पनि गरिरहेका छौं ।’ 

यातायात व्यवस्था विभागले पठाओ र टुटललाई निजी नम्बर प्लेटमा यात्रु नओसार्न चेतावनी दिएपछि ट्राफिक प्रहरीले पठाओ चालकमाथि पहिलो कारबाही गरेको हो । 

ट्याक्सी चालकहरुले आफ्नो ग्राहक घटेको भन्दै पठाओ टुटलको विरोध गर्दै आएका छन् । आइतबार स्वयम्भुमा पनि पठाओ चालक विकासलाई रोकेर ट्रयाक्सी चालकहरुले ट्राफिक प्रहरी बोलाएर चिट काट्न लगाएका थिए । 

 

 

प्रतिकृया दिनुहोस