• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानसेनापति शर्मा र राष्ट्र संघका सैनिक सल्लाहकारबीच भेटवार्ता

सनराइज खबर संवाददाता

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ । 

उहाँहरुबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएकाे हाे । प्रधानसेनापति शर्मा र  राष्ट्रसंघ मुख्यालका सैनिक सल्लाहकार डोयपबीच नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानबारे छलफल भएकाे छ ।

उहाँहरुबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा जनरल डोयपले नेपाली शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा रही पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सोको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसङ्घबाट हालसम्म प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सेना अझ पेसेवर रुपमा प्रभावकारी ढंगबाट शान्ति मिसनहरुमा खटिने प्रतिबद्धता जनाउनुभयाे ।

राष्ट्रसंघ स्थापना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको दुई दिने विशेष कार्यक्रममा सहभागी हुन डोयप नेपाल आउनुभएको हो ।

राष्ट्रसंघका उच्चस्तरीय प्रतिनिधिको भ्रमण र भेटले नेपाली शान्ति सैनिकले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको अन्तर्राष्ट्रिय जगतबाट उच्च मूल्यांकन हुने सेनाले विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस