दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु
काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा दुई सय १६ जना नेपाली शान्ति सैनिक काठमाडौंबाट मङ्गलबार राति मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् ।
हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौं डफफालाई बदली गर्न उक्त टोली गएको हो । विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेना विभिन्न संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा रही महत्वपूर्ण योगदान पुर्याउदै आइरहेको छ ।
विश्वमा शान्ति सैनिकको संख्या धेरै पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो वरियतामा छ । नेपाली शान्ति सैनिकलाई विश्वका विभिन्न ४३ शान्ति मिसनमा परिचालित भई काम गरिसकेको अनुभव छ । हाल विश्वका १२ स्थानमा तैनाथ राष्ट्रसंघीय मिसनमा दुई सय महिला सैनिकसहित पाँच हजार दुई सय २९ नेपाली शान्ति सैनिक परिचालित छन् ।
कोभिड–१९ संक्रमण जोखिमबीचमा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप सेनाले अदलीबदलीका समयमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आएको छ ।
–रासस


प्रतिकृया दिनुहोस