• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

भारतीय सेनाका उच्च अधिकारीको टोली नेपाल आउँदै

सनराइज खबर संवाददाता

काठमाडौं । भारतीय सेनाका उच्च अधिकारीको नेतृत्वमा ३९ सदस्यीय टोली एक साता नेपाल भ्रमणमा आउने भएकाे छ ।

भारतको राष्टिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) मा सञ्‍चालित नेशनल डिफेन्स कोर्समा सम्मिलत प्रशिक्षार्थी र अधिकारी तथा त्यहाँका वरिष्ठ निर्देशक तथा भारतीय जल सेनाका रियर एडमिरल धीरेन भिग नेतृत्वकाे टाेलीले नेपाल भ्रमण गर्ने भएको हो । भारतको नेसनल डिफेन्स कलेजमा सन् २०२१ को ब्याचमा अध्ययनरत सैनिक टोलीमा फ्याकल्टी र कोर्समा सहभागी सैनिक अधिकृत हुनेछन् ।

साे टाेली भाेलि काठमाडाैं आइपुग्ने सैनिक जनसम्पर्क तथ सूचना निर्देशनालयले जनाएकाे छ । कात्तिक ६ गतेससम्म नेपालमा रहने साे टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएकाे छ ।

साे टाेली नेपालका विभिन्न ठाउँकाे भ्रमण पनि गर्नेछ । साे टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य कमाण्ड हेडक्वाटर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरी, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीलगायत नेपालका विभिन्न ठाउँकाे भ्रमण तथा नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्नेछ ।

मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने सेनाले जनाएकाे छ । यस्ता भ्रमणले दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने नेपाली सेनाकाे विश्वास छ ।

 

 

प्रतिकृया दिनुहोस