रवि लामिछानेसँग पाँच लाख धरौटी माग
चितवन । जिल्ला अदालत चितवनले विवादास्पद संचारकर्मी रवि लामिछानेलाई पाँच लाख धरौटी तिरेर रिहा गर्न आदेश दिएकाे छ। पत्रकार सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लागेका उनलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
त्यस्तै अर्का अभियुक्त युवराज कँडेलसँग तीन लाख धरौटी माग गरिएको छ भने अस्मिता भनिने रुकु कार्कीलाई सामान्य तारेखमा छोड्ने आदेश दिएको छ । लामिछाने र कँडेल दुबैलाई विदेश जान नपाउने गरी उक्त धरौटी रकम तोकिएको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासले सोमबार यस्तो आदेश दिएको हो । मुद्दाको टुंगो नलागेसम्म रवि लगायतका आराेपीहरुलाई टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ र युटुबमा काम नगराउन पनि आदेश दिइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले तीनै जना विरुद्ध दुरूत्साहनको अभियोगमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गरिएको थियो ।


प्रतिकृया दिनुहोस