• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

युगल जोडीको ज्यान लियो उडुस मार्ने विषले

खबर स‌ंवाददाता

काठमाडौं । यमबहादुर मगर र सविना बजगाईं काठमाडौंको गोंगबु स्थित नयाँ बसपार्कको एक गेष्टहाउसमा मृत भेटिए ।

आत्महत्याको समाचारले देश तताइरहेको बेला यो जोडीले पनि आत्महत्या नै गरेको हुनुपर्छ भन्ने अनुमान धेरैले गरे । तर, मोरङ–पर्वत–धौलागिरी गेष्ट हाउमा त्यो जोडिले आत्महत्या गरेको थिएन । उनीहरुको विवाहेत्तर सम्बन्ध थियो, गेष्टहाउसमा बस्न गएका थिए । सुतेको कोठामै उनीहरुको इहलीला समाप्त भयो । ४ भदौको घटना हो यो । 

प्रहरीले पनि ‘त्यो जोडीले पक्कै आत्महत्या गरेको हुनुपर्छ’ भन्ने ठान्यो । प्रहरीको प्रारम्भिक अनुसन्धानको सुई पनि आत्महत्यामै केन्द्रित थियो । 

उनीहरु बसेको कोठाको ढोका नखुलेपछि गेष्टहाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर ढोका फोरेर हेर्दा सविना खाटमा अर्धनग्न पल्टिरहेकी थिइन् । चितवन खैरहनीका यम थापा मगर भुँईमा अर्धनग्न अवस्थामा पल्टिएका थिए । उनीहरु दुवैको इहलीला समाप्त भइसकेको थियो । 

प्रहरीले घट्नास्थल नियन्त्रणमा लियो । प्रहरीको पहिलो खोजी थियो– सुसाईड नोट । तर, कुनै नोट भेटिएन । लाशको प्रकृति हेर्दा हत्या जस्तो पनि देखिँदैनथ्यो । मृतकहरुको शरीरमा कुनै घाउचोट देखिएन ।

घटनाको केही घन्टामै प्रहरीले गेष्टहाउस सञ्चालक केशवराज पोखरेललाई पक्राउ गर्यो । होटलका एक कामदारलाई पनि पक्राउ गर्यो । ३० वर्षीय सविना र ३७ वर्षीय यम थापाको मृत्युमा उनीहरुलाई पक्राउ गरिनुको कारण भने अनौठो छ । 

उडुस र सल्फास

सविना र यम भेटिएको कोठामा नमिठो गन्ध आइरहेको थियो । त्यो सल्फास नामक विषको गन्ध थियो । गेष्ट हाउस संचालक केशवराजले कोठा नम्बर १११ मा उडुस मार्नका लागि सल्फास छर्केका थिए । 

‘झ्यालढोका पूरै बन्द गरेको, भेन्टिलेसन समेत पूर्ण रुपमा बन्द गरिएको र कोठामा पंखा चलाएको देखिन्छ’ सो घट्नाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृत भन्छन्– ‘भेन्टिलेशन समेत नभएपछि सल्फासको विषालु गन्धका कारण उनीहरुको मृत्यु भएको जस्तो देखिन्छ, पोष्टमार्टमा रिपोर्टपछि थप अनुसन्धान अगाडि बढाउँछौं ।’ 

उडुस मार्न सल्फास छर्किएको २४ घण्टा नबित्दै कोठामा पाहुना राखेको, लापारवाही गरेर अरुको ज्यान लिएको आशंकामा गेष्टहाउस सञ्चालक पर्वत फलामखानी–५ का केशवराजलाई पक्रेको प्रहरीले बताएको छ । महाराजगञ्जबाट शुक्रवार रमाना भएका डिएसपी फणिन्द्र प्रसाईले ३८ बर्षिय पोखरेललाई पक्राउ गरिएको पुष्टि गरे ।

विवाहेत्तर सम्बन्ध 

चितवन खैरहनी नगरपालिका–२ का यम थापा चितवन जिल्ला अदालमा मुद्धा लडिरहेका थिए । उनले कस्तो मुद्दा खेप्दै थिए भन्ने खुलेको छ्रैन । परिवारसँगै चितवन बस्ने यम बाक्लै काठमाडौं आउँथे । 

काठमाडौंको बनस्थलीमा होटल चलाएर बस्थिन् मकवानपुर कालढुंगाकी सविना बजगाईं ‘सुनिता’ । होटल नजिकै डेरा थियो । 

यम र सुनिता बिच विवाहेत्तर सम्बन्ध थियो । लामो समय मलेसिया बसेर फर्केका श्रीमानसँग सुनिताको राम्रो सम्बन्ध थिएन । 

प्रहरीलाई सुनिताको छोराले बताएअनुसार सुनिता र उनको श्रीमानको झगडा भइरहन्थ्यो । पछिल्लो समय श्रीमान काभ्रेतिर बस्थे, कोठामा कहिलेकाहीँ मात्रै आउँथे । 

विवाहेत्तर सम्बन्ध र सल्फास विषले दुवैको ज्यान लियो ।

प्रतिकृया दिनुहोस