एउटा फोटोले खोल्यो १६ वर्ष पहिलेको भगवती हत्याकाण्ड
काठमाडौं । जीवनकै अन्तिम थियो २८ वर्षीय भगवती अधिकारीका लागि त्यो दिन । तीनजना लालाबालाले ‘आमा’ भन्दै बोलाउने पनि त्यो नै अन्तिम दिन थियो ।
त्यो थियो २०६२ पुस ६ को दिन । भगवतीको काठमाडौं कलंकी स्थित डेरा कोठाबाट धुँवा आउन थाल्यो । धुँवासँगै भगवतीको चित्कार पनि फैलँदै थियो । मानिसहरु आए । भगवतीको ढोका भित्रबाट चुकुल लागेको थियो । भित्र ज्यूँदै चितामा जल्दै थियो भगवतीका शरीर । ढोका फोडेर भगवतीलाई बाहिर निकालियो । जल्दै गरेको शरीरको आगो निभाइयो ।
तत्काल वीर अस्पताल लगियो । भोलिपल्ट भगवतीको इहलिला समाप्त भयो । नाबालाक दुई छोरी र एक छोरा टुहुरा भए ।
चितामा जलेको दुःख
काभ्रेपलाञ्चोक फुलबारी दाप्चा थियो भगवतीको घर । कलंकीमा डेरामा बसाई थियो । दुखै दुख र पीडा नै पीडाको थियो भगवतीको जीवन । भगवतीको जीवनको रामकहानी लामो छ, दर्दमय छ । संक्षिप्तमा भगवतीको जीवनको वयान यसरी गरौं–
सानै उमेमा भगवतीको अन्र्तजातीय विवाह भयो माइला लामासँग । भगवतीलाई विवाहपछि सुखैसुख पाइएला भन्ने लागेको थियो । तर, सन्तान थपिँदै गए, दुःख बढ्दै गयो । दुःखका कारण पति थिए । पतिसँग बस्न नसकेपछि सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेद गरेर कलंकीमा बस्न थालेको एक वर्ष मात्र भएको थियो ।
अरुको घरमा भाँडा माझेर दुई छोरी, एक छोरा र आफ्नो पेट पाल्नु सजिलो थिएन । जटिल जीवनमा अर्काे एउटा राक्षस आइलाग्छ भन्ने भगवतीलाई के थाहा ? त्यस्तै भयो ।
भगवतीको जीवनमा एउटा राक्षस आयो । त्यो राक्षसले पनि सताउनसम्म सतायो । कति सतायो भने आफ्नै कोठालाई चिता बनाइदियो । आफ्नै शरीर दाउरा बन्यो र हुरहुरी बल्यो । त्यही आगोले इहलीला समाप्त भयो ।
हत्या कि आत्महत्या ?
पुसको त्यो चीसो दिन भगवतीको शरीरमा कसरी आगो लाग्यो ? आत्महत्याको कि हत्या हो ? यस्ता प्रश्नको जवाफ खोज्न बुवा इन्द्रबहादुर अधिकारी गाउँबाट आइपुग्नुभयो ।
छोरीको आत्महत्या होइन हत्या हो भनी इन्द्रबहादुरले दिएको किटानी जाहेरीलाई प्रहरीले खासै महत्व दिएन । बुवाको तर्क थियो– भयानक दुःख सहेर बाँचिरहेकी मेरी छोरीले आत्महत्या गरेको हुनै सक्दैन । त्यति ठूलो दुख सहन सक्ने मेरो छोरी हिम्मतवाली थिइ, आत्महत्या गरेको हुँदै होइन ।
घटनास्थलको विशेषता के थियो भने भगवतीको कोठामा भित्रबाट चुक्कुल लगाइएको थियो । तर, झ्याल खुल्ला थियो । झ्यालमा ग्रिल थिएन ।
वरिपरिका केही मानिसले भने– भगवती जल्दै गरेको बेला कोही मानिस भगवतीको झ्यालबाट हाम्फालेर भागेको थियो ।
भगवतीको जीवन नियालेर हेर्दा अकल्पनीय दुःखले भरिएको थियो । त्यो भयानक दुःखबाट पार पाउन आत्महत्या नै गरेको होला भनी कतिपयले निष्कर्ष निकाले । शायद, प्रहरीको पनि निष्कर्ष यही थियो । त्यही भएकाले भगवतीको मृत्यु प्रकरणको अनुसन्धान फायल प्रहरीको दराजमा कैद भयो ।
ब्युरोको त्यो छलफल
कलिला छोराछोरीले आमा कसरी बिर्सन सक्छन् ? आमा आमा भन्दै रोइरहन्थे । हजुरबा अर्थात इन्द्रबहादुरको मन रोइरहन्थ्यो । इन्द्रबहादुरलाई लाग्थ्यो– गरिब भएकाले हत्यारा खोज्न प्रयास नगरिएको होला । गरिब मर्दा कसले वास्ता गर्छ र ? यही दुःखका साथ दुई वर्ष बित्यो । तर, इन्द्रबहादुरको मन मानेन । फेरि प्रहरीमा जाहेरी दिनुभयो । तर, अहँ, प्रहरीले वास्तै गरेन ।
दिन महिना गर्दै वषौंवर्ष बित्यो । ती लालाबाला ठूला भए, भगवतीको अशान्त आत्माले न्याय खोजिरह्यो । तर, घटनाको तथ्य छानविन भएन ।
यसबीच काठमाडौंको महाराजगञ्जमा एउटा घटना भयो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका उच्च अधिकारीहरु बीच छलफल चल्दै थियो । ब्युरो प्रमुख डिआईजी धिरजप्रताप सिंह भन्दै हुनुहुन्थ्यो– हामीले पूराना केश पनि खोतल्नुपर्छ । पूराना केश खोतल्ने क्रममा व्युरोका एसपी कमल थापा लगायतको ध्यान अग्निकाण्डको फायलमा गयो । त्यसपछि सुरु भयो अनुसन्धान ।
१६ वर्षपछि अग्निकाण्डको फायल खुल्यो ।
त्यो एउटा फोटो
प्रहरीले त्यसबेला घटनास्थलमा पाइएका एकएक सामानको छानविन थाल्यो । अहँ, कुनै सुराक मिलेन । हत्या कि आत्महत्या भनेर यकिन गर्नुभन्दा पहिले घटनास्थलको समग्र परिस्थितिको विष्लेशण गर्नु थियो ।
त्यसबेला कोठामा भेटिएका सानाभन्दा साना सामानको सुक्ष्म विष्लेशण गरियो । त्यसबेला अहिले जति डिजिटल फोटोको चलन थिएन । एल्बममा फोटो राख्ने चलन थियो । भगवतीको कोठामा रहेका प्रत्येक फोटोको जाँच थालियो । फोटोमा देखिने हरेक व्यक्तिको पहिचान खोजियो । त्यो क्रममा एउटा फोटोमा भएको व्यक्तिको पहिचान हुन सकेन । कुनै स्टुडियोमा भगवती र ती व्यक्तिले फोटो खिचेका थिए । ती व्यक्ति नातागोता थिएनन्, भगवतीलाई चिन्ने कसैले पनि ती व्यक्तिलाई चिनेका थिएनन् ।

प्रहरी अनुसन्धान विधिले भन्छ– अनुसन्धान कुनै अन्धकारमा पुगेर ठप्प हुन्छ भने त्यहीँबाट उज्यालो भेटिन सक्छ । प्रहरीले यही विधि अपनायो । फोटोमा भएको व्यक्ति को हो ? खोजी थाल्यो । प्रहरी पुग्यो त्यसबेलाका घरबेटी उपेन्द्र रायमाझीकोमा । १६ वर्ष पहिले भगवतीको कोठामा बारम्बार आउने ती व्यक्तिको पहिचान रायमाझीले सजिलै गरिदिनुभयो । त्यसपछि भगवतीका छोराछोरीले पनि ती व्यक्तिको पहिचान गरिदिए ।
अनुसन्धानको सुईले ती व्यक्तितिर औंल्यायो । अनि सुरु भयो ती व्यक्तिको खोजी अभियान । १६ वर्ष पहिलेको फोटोको आधारमा अहिले मान्छे खोज्नु असम्भव झैं लाग्छ होला तर अनुसन्धान व्युरोका प्रहरी अधिकारीहरु असम्भव भन्ने शब्दलाई मान्दैनन् । र, गत साउन २७ गते ललितपुरको महालक्ष्मी नगरपालिकाको चाङगाथलीमा ती व्यक्ति पक्राउ परे ।
फोटोका व्यक्ति उनै थिए । नाम हो गबहादुर खत्री उर्फ शिवजी खत्री । अहिलेको उमेर ४६ वर्ष । घर हो रामेछापको माकादुङ गाउँ । १६ वर्ष अघि भगवतीसँग फोटो खिच्ने शिवजी नै थिए । पहिले त उनले फोटोको व्यक्ति म होइन भने । तर, सत्य लुकाएर कहाँ सम्भव हुन्छ र ? स्विकार्न शिवजी बाध्य भए । र, घटनाको वास्तविकता पनि सतहमा आयो ।
भगवतीलाई शिवजीले दिएको दुख
एकल महिला भगवतीकोमा शिवजीको आउजउ थियो, हिमचिम थियो । अरुको घरमा भाँडा माझेर गुजारा गर्ने भगवतीसँग शिवजीले पैसा समेत असुल्थे । यातना दिन्थे, दुबर््यवहार गर्थे । एकपटक उनले मट्टितेल हालेर भगवतीलाई जलाउन खोजेका पनि थिए । घरपट्टि तथा साना छोराछोरीका कारण भगवती बाँचेकी थिइन् ।
तर, शिवजीले फेरि पनि जलाउन प्रयास गरे । त्यसबेला बचाउने कोही थिएनन् । भगवती जल्दै गर्दा शिवजी एकतला माथि झ्यालबाट हाम्फालेर भागे । १६ वर्षसम्म उनले आरामको जिन्दगी बाँचे । उनी हत्यारा हुन् भन्ने पहिचान भएन ।
बुवा इन्द्रबहादुरले दुई पटक जाहेरी दिँदा पनि घटनाको तथ्य तथा साक्ष्य उपर प्रहरीका त्यसबेलाका अनुसन्धान अधिकारीको ध्यान किन गएन भनेर आज प्रश्न उठेको छ । त्यसबेला प्रहरीको फितलो अनुसन्धानका कारण यो घटनामा न्याय पाउन १६ वर्ष लाग्यो ।
अब न्यायिक फैसलापछि मात्र भगवतीको भड्किएको आत्माले शान्ति पाउनेछ ।


प्रतिकृया दिनुहोस