• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

प्रदेश एकको प्रहरी प्रशासनमा तस्करीको प्रदूषण

विक्रम केसी


बिराटनगर । रिटायर्ड सुरक्षाकर्मी र अनुभवी तस्करहरुको भनाई छ– प्रहरी प्रशासनसँग मिलेमतो नगरी तस्करी गर्न सम्भव छैन । मिलेमतोमा तस्करी हुने ‘ओपन सेक्रेट’ नै हो । 

मिलेमतोमा तस्करी अहिले प्रदेश नम्बर १ मा पूरै फस्टाएको छ । यहाँ लगभग सर्वत्र निषेधाज्ञा छ । निषेधाज्ञा अरुलाई लाग्छ तर तस्करलाई लाग्दैन । निषेधाज्ञाका बेला तस्करी गर्न झन् सजिलो हुने जानकारहरु बताउँछन् ।

प्रदेश एकको तराईमा पर्ने जिल्लाहरु, विशेष गरी झापा र मोरङमा तस्करी धन्दा फस्टाएको छ । प्रदेश १ मा तस्करीको धन्दा कसरी मौलएको छ भन्ने एक विशेष रिपोर्ट :-

मासिक भाेजन

केही दिन अघि भारतको वीरपुर बजारको एक कोल्ड स्टोरमा भारतीयले तीन गाडी स्याउ बरामद गर्छ । सो स्याउ नेपालबाट तस्करी गरेर भारत लगिएको भारतीय प्रहरीको दावी थियो । सो बजार नेपालबाट पाँच किमि मात्र टाढा छ ।म

अर्काे दिन भारतीय प्रहरीले एक गाडि मरिच बरामद गर्छ । सो मरिच बीरपुर बजारबाट अरु दक्षिण पनौल गाउँमा भेटिएको थियो । त्यहाँ पनि प्रहरीले सो मरिच नेपालबाट तस्करी भएर ल्याएको दावी गरेको समाचार स्थानीय मिडियाले दिए । 

त्यसैगरी मोरङको वुद्धनगर पारी भारतको तरीगामा गोदामबाट २ ट्रक स्याउ भारतीय प्रहरीले बरामद गर्यो । मोरङ घुनिया बस्तीका जाहीद मियाले सो स्याउ पठाएको बुझिएको छ । 

भारतीय प्रहरीले धमाधम नेपालबाट तस्करी हुने स्याउ, मरिच लगायतका सामान बरामद गरिरहेकाे छ । जानकारहरु भन्छन्– मरिच महंगो वस्तु भएकाले यसको तस्करी सामान्य तस्करले गर्दैनन्, मरिच तस्करी गर्न सेटिङ पनि ठूलो गर्नुपर्ने हुन्छ । मरिच तस्करी गर्दा नेपालको प्रहरी प्रशासनलाई ठूलो रकम खुवाउनुपर्ने हुन्छ ।

एक नम्बर प्रदेशमा मरिचका अगुवा तस्कर भनेर जितु शाहलाई चिनिन्छ । जितु र बिराटनगरका अरुण सुलानाको साँठगाँठ छ । प्रदेश १ का प्रहरी प्रमुखका रुपमा इश्वरबाबु कार्की आएपछि सुलानाना एकाएक शक्तिशाली बनेको बताइन्छ । किनभने डिआइजी कार्की र अरुण निकै ‘घनिष्ट’ भएको बताइन्छ ।

बिराटनगरलाई कपडा तस्करीको केन्द्र पनि मानिन्छ । मोरङको दरैया वस्ती क्षेत्रबाट कपडा तस्करी हुने गरेको छ । भान्जा उर्फ अमर जलान आजकाल कपडा तस्करीमा निकै चम्किएका छन् । किनभने जलानका एकजना मामा प्रदेश प्रहरी प्रमुखको तर्फबाट मोरङ हेर्ने घमुवा हुन् । यो नाताका कारण भान्जा चम्किएको बताइन्छ । 

तर, भान्जाको कपडा तस्करी चम्किए पनि उनी साना तस्कर हुन् । मोरङका धिरु कालीका अगाडि भान्जा भुसुना तस्कर हुन् । धिरुले मासिक २०–२५ लाख रुपैयाँ प्रदेश प्रहरी प्रमुखलाई दिने भनेर पठाइन्छ । मोरङ प्रहरीलाई पनि धिरुले राम्रै रकम मासिक दिने गरेको बताइन्छ । 

जताततै दानापानी

मोरङमा तस्करले खासगरी प्रहरीलाई किने सरह अवस्था छ । उता झापामा पनि तस्करहरुको दिन फिरेको छ । तस्करी रोक्ने जिम्मा पाएकाहरुलाई नै दानापानी बुझाएपछि तस्करका दिन फिरेको हो ।

करिब दुई साता अघि झापा विर्तामोडका व्यापारी प्रदिप मित्तलले श्याम थापा, श्याम पिण्टु, जिरे, राजन खड्का लगायतको टिम बनाए । उनीहरु सबै सुपारी व्यापारी भनेर चिनिन्छन् । उनीहरुले भारतको सिलिगुडीतर्फ सुपारी तस्करी गर्न सेटिङ मिलाए । प्रदेश १ प्रहरी प्रमुख इश्वरबाबु कार्की सम्मलाई दानापानी बुझाएपछि यो समूहले बाँकी कामको जिम्मा काकरभिट्टाका इन्सपेक्टर होम अधिकारीलाई दियो । 

सेटिङ अनुसार मंगलबार राति काँकरभिट्टा थानाको उत्तर तर्फ रहेको श्याम थापाको गोदाममा राति एक गाडी सुपारी अनलोड भयो । यस्तो गाडीलाई निषेधाज्ञाले छोएन । 

राति नै एक ट्रक सुपारी भरिया लगाएर मेची नदी पार गराइयो । काकरभिट्टाकै उत्तर तर्फ नकलबन्दालाई पनि तस्करहरुले स्टेशन बनाएका छन् । यो क्षेत्रबाट प्रहरीकै संरक्षण र मिलेमतोमा सुपारी, मरिच लगायत विभिन्न वस्तु रातभरी सेटिङमा तस्करी हुने गरेको छ । अहिले मेची नदी बढेर तर्नै नसक्ने भएको छ । तैपनि डुंगा प्रयोग गरेर सेटिङको सामान तस्करी हुन थालेको स्रोतको दावी छ ।

काकरभिट्टाबाट मात्रै तस्करी गर्न प्रजिअ, जनपद प्रहरी र सशस्त्र प्रहरीलाई गरी अहिले मासिक ८३ लाख रुपैयाँ तस्कर समूहले उपलब्ध गराइरहेको बुझिन्छ । ‘सो रकम प्रदेश प्रहरी प्रमुख हुँदै माथिसम्म पुग्छ’– एक पूर्व प्रहरीले दावी गरे ।

प्रदेश प्रहरी कार्यलयमा आरआईटी भन्ने टिम छ । अपराध अनुुसन्धानमा दख्खल राख्ने राम्रा राम्रा अफिसरहरुलाई राखेर केही वर्ष पहिला क्षेत्रीय प्रमुखहरुको अवधारणमा यो टिम बनाइएको हो । यो टिमले राम्रा राम्रा काम गरेर देखाएको पनि थियो । अहिले भने उठ्ती पुठ्ती गर्ने र घुमुवाको रुपमा यो टिम प्रयोग भइरहेको बताइन्छ । आरआईटी टिमलाई अहिले प्रदेश १ का प्रहरीहरु तस्करको सहयोगी टिम भन्छन् । गत वर्षदेखि सुनसरीमा आरआईटी टिमले तस्करी ठप्प पारेको थियो । अहिले भने तस्करको औजारका रुपमा यो टिमको दुरुपयोग गर्न थालिएको बताइन्छ ।


उता इलामको पशुपतिनगर, जौबारी, मानेभञ्ज्याङ क्षेत्रबाट चाहिँ खासगरी इलेक्ट्रोनिक सामान तस्करी भइरहेको बताइन्छ । त्यहाँको तस्करीमा पनि प्रदेश प्रहरीको आशिर्वाद रहेको जानकारहरु बताउँछन् । 

उताका कुरा

भारतको सिलिगुडी तथा बिहार क्षेत्रका स्थानीय मिडियामा नेपालबाट सरसामान ब्यापक तस्करी हुने गरेको समाचार आउने गरेको छ । नेपालको प्रहरी प्रशासनले नै मिलेमतोमा तस्करलाई सघाउने गरेको समाचार उताका मिडियाले दिने गरेका छन् । 

नेपालबाट सामान कसरी तस्करी भएर जान्छ ? सुरक्षाका उच्च अधिकारीहरु भन्छन्– १ नम्बर प्रदेशमा अहिले जसरी तस्करी भइरहेको छ, पूरै सेटिङ नगरी सम्भव छैन । जनपद प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासनको मिलेमतोमै तस्करी भइरहेको छ । प्रदेश प्रहरी प्रमुखले आशिर्वाद र इशारा नदिई प्रदेशमा जताततै तस्करी हुन नसक्ने उनीहरुको भनाई छ । 

सरकारी नीति नै तस्करीको

आर्थिक मामिलाका जानकारहरु नेपालको आयात नीति नै तस्करमुखी भएको बताउँछन् । तेस्रो मुलुकबाट भारत आउने सामान केकेको उता अभाव हुन्छ, यताबाट तिनै सामान तस्करी हुने गरेको छ । नेपालको वार्षिक खपतभन्दा कैयन गुणा बढि सुपारी, मरिच, ल्वाङ, केराउ, स्याउ लगायतका वस्तु आयात गर्न दिइने गरेको छ । देशभित्र खपत हुनेभन्दा धेरै आयात गर्न दिनुको अर्थ भारत तस्करी गर भनेको हो । 

यस्तो तस्करीले नेपालको विदेशी मुद्रा सञ्चितीलाई ठूलो असर पर्ने अर्थविद्हरुको भनाई छ । 

उता, तस्करीका कारण प्रहरी प्रशासनको व्यापक भ्रष्टिकरण भइरहेको छ । भ्रष्टिकरणको डरलाग्दो अवस्था प्रदेश एकमा देख्न सकिन्छ । प्रदेश एकका एक मन्त्रीले भने– ‘यहाँ प्रशासन, जनपद र सशस्त्र प्रहरीकै मिलेमतोमा व्यापक तस्करी मौलाएको हामीलाई थाहा छ । प्रदेशका जनपद र सशस्त्रका प्रहरीका प्रमुखलाई तस्करी रोक्न भन्यौं तर वास्तै गर्दैनन् । केन्द्र सरकारले हस्तक्षेप नगरी यहाँको तस्करी धन्दा नियन्त्रण हुन सक्दैन ।’


 

प्रतिकृया दिनुहोस