बैतडी दुर्घटना: एक प्रहरी जवानसहित तीनकाे सनाखत (अपडेट)
काठमाडौं । बैतडीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाको सनाखत भएको छ ।
बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, २७ वर्षीय करनसिंह ऐर र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुुभयो ।
मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ऐरको शव बसले च्यापिएकाले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । अन्य छ मृतकको पहिचान हुन सकेको छैन । उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
उक्त दुर्घटनामा परी घाइते भएका ३४ मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । क्षमताभन्दा बढी यात्रु बोकेको बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिकृया दिनुहोस