ट्रकको ठक्करबाट कैलालीमा पैदल यात्रीको ज्यान गयाे
कैलाली । ट्रकले ठक्कर दिँदा कैलालीमा एक पैदल यात्रीको आज निधन भएको छ ।
धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्तर्गत चटकपुरमा ना३ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ्गम टोलका ६६ वर्षका वीरसिंह विष्टको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।
बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो । ठक्कर दिने ट्रकका चालक फेला नपरेकाले खोजी कार्य भइरहेको बताइएको छ । ट्रकका साउ भने सम्पर्कमा रहेको जनाइएको छ ।
- रासस


प्रतिकृया दिनुहोस