भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन
भक्तपुर । मध्यपुरथिमिको बोडे र कमलविनायकमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन भएको छ ।
भक्तपुर नगरपालिका– १० कमलविनायक भत्केकोपाटीमा बा. ९५प.१४५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको निधन भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार गएराति भएको दुर्घटनामा गम्भीर घाइते कमलविनायक बस्ने १७ वर्षीय रञ्जित माहाजुको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
मध्यपुरथिमि नगरपालिका–९ बोडेमा बा ५ ख ४३११ नं को पानीको ट्याङ्करले बा ९२ प. ७०७७ नं को स्कुटरलाई ठक्कर दिएर दुर्घटना हुँदा स्कुटर पछाडि सवार काठमाडौँ कागेश्वरी मनोहरा बस्ने ४५ वर्षीया लक्ष्मी कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएकी कार्कीको नेपाल कोरियामैत्री अस्पताल ठिमीमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिनुभयो ।
प्रहरीले ट्याङ्कर चालक रामेछाप मन्थली - ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्री र दुई सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको उहाँले जानकारी दिनुभयो ।
–रासस


प्रतिकृया दिनुहोस