• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

बालाजुमा दुईजनाको ज्यान लिने मिनिट्रक चालक नैकापबाट पक्राउ 

सनराइज खबर संवाददाता

काठमाडौं । गोंगबुबाट माछापोखरी जाँदै गरेको आइचर ट्रकले बिहीबार राती नयाँ बसपार्क नजिकै  स्कुटरलाई ठक्कर दियो । 

ह्युमपाइप बोकेको ना.२ क५४८५ नम्बरको आइचरको ठक्करबाट ना.६५प २८०१ नम्बरको स्कुटरमा सवार दुईजनाको ज्यान गयो ।

दुर्घटना गराएपछि मिनिट्रक लिएर चालक भागे । 

दुर्घटनामा परेर स्कुटरमा सवार बझाङ घर भएका लोकेन्द्र विष्ट र धन बहादुर बुढाको निधन भएको छ । उपचारको क्रममा लोकेन्द्रको शिक्षण अस्पताल र धन बहादुरको ट्रमा सेन्टरमा निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  

दुर्घटना गराएर भाग्ने मिनिट्रक र चालक रत्न बहादुर बम्जलाई प्रहरीले नैकापबाट पक्राउ गरेको छ । सर्लाही घर भएका ५६ बर्षीय रत्नबहादुरले मादक पदार्थ सेवन गरेको ट्राफिक महाशाखाले जनाएको छ । 

लुकिङ ग्लासको क्लू

स्कुटरलाई ठक्कर दिएर मिनिट्रक भाग्यो । तर, दुर्घटना स्थलमा लुकिङ ग्लासको प्लाष्टिकको भाग फेला पर्‍यो । 

प्रहरीले काठमाडौं उपत्यकाभरी लुकिङ ग्लास फुटेको आईचर ट्रक खोज्न थाल्यो । 

नैकापमा लुकिङ ग्लास फुटेको मिनिट्रक भेटियो । ‘लुकिङ ग्लासको क्लू को आधारमा हामीले ट्रकलाई नैकापमा समात्यौं’ महानगरीय ट्राफिक महाशाखाका एक प्रहरी अधिकृतले भने ।  

दुर्घटना गराएर सो आइचरका चालक धादिङ तर्फ भाग्न लागेका थिए । तर, उनी प्रहरीको पञ्जाबाट उम्कन सकेनन् । 

प्रतिकृया दिनुहोस