• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

भारतले लुट्यो नेपालकाे आँपताल, बीचताल र काँक्रेताल

नबराज पथिक

काठमाडौं । ‘भारतीय सीमा सुरक्षा बलले गोबिन्द गौतमको हत्या गरेदेखि यता नेपाली त्रसित छन्, उता भारतीयको मनोबल बढेको बढ्यै छ’, कञ्चनपुरको आनन्दबजारमा भारतीय पक्षले गर्ने गरेको ज्यादती सुनाउँदै पुनर्वास नगरपालिका–४ का वडाअध्यक्ष प्रेमबहादुर बस्नेतले भन्नुभयो । 

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मा नेपालको आनन्दबजार र भारतको बसही जोड्ने खोलामा कच्ची कल्भर्ट दुवै पक्ष बीचको सहमतिमा बनाइएको थियो । तर, भारतीय सुरक्षाबलले एकाएक निर्माणको अन्तिम चरणमा पुगेको कल्भर्ट मात्र भत्काएन, नेपाली भूमिमा आएर एक नेपालीको घर समेत भत्काइदियो । त्यसको विरोधमा आन्दोलनमा उत्रिएका नेपालीलाई भारतीय सुरक्षा बलले गोली हान्यो । गोली लागेर ३६ वर्षिय गोबिन्द गौतमको ज्यान गयो ।

२०७३ साल फागुन २६ को घटना हो यो ।

नेपाल सरकारले गौतमलाई सहिद घोषणा गर्यो तर त्यहाँको अवस्थामा भने कुनै सुधार आएन । 

भारतीय पक्षले गौतमको हत्या गरेपछि रोकिएको कल्भर्ट निर्माणको काम चार वर्ष बित्दा पनि अघि बढेको छैन । आनन्दबजारबाट भारतको बसही जाने बाटो बन्द छ । 

अहिले दुई देशका नागरिक जंगलको असुरक्षित बाटोहुँदै आउजाउ गर्छन् । ‘दुई तिरका मानिसको खेतीपाती तथा पारिवारिक सम्बन्ध वारि पारि छ, यसको लागि असुरक्षित बाटो प्रयोग गरेर हिँड्नु पर्ने अवस्था छ’ पुनर्वास नगरपालिका–४ की वडा सदस्य पार्वती शाही सनराइज खबरसँगको फोन सम्पर्कमा भन्नुभयो । 

भारतले कल्भर्ट बनाउन मात्र रोकेको छैन, नेपालको पुनर्वास नगरपालिको वडा नं १ र ४ को जमिन समेत कब्जामा लिएको छ । 

स्थानीय बलौरी फाँटमा नेपालका कर्णबहादुर शाही र अर्का एक नेपालीको साढे ३ बिघा सहित ८ बिघा नेपालको जमिन अहिले भारतको नियन्त्रणमा छ । 

यहाँ भारतीय अत्याचार कतिसम्म छ भने २०५९ सालसम्म तत्कालीन गाविसले माछा पालनका लागि ठेक्का लगाउने हालको वडा नं ४ का तीन वटा पोखरी भारतले विवादित जग्गा भन्दै कब्जा जमाएको छ । 

‘सामुदायिक वन क्षेत्रमा पर्ने आँपताल, बीचताल र काँक्रेताल २०५९ सालसम्म पनि गाविसले ठेक्का लगाउँथ्यो, २०६० सालमा माओवादी आन्दोलन उत्कर्षमा पुगेपछि गाविसले ठेक्का लगाउन सकेन, शान्ति प्रक्रियामा आएपछि ती पोखरी विवादित स्थान भन्दै भारतले छिर्न दिएको छैन’, वडाअध्यक्ष बस्नेतले भन्नुभयो । 

कालापानीको विवाद सुल्झाउँदा पुनर्वासको विवाद पनि सँगै सुल्झाउनु पर्ने माग वडाअध्यक्ष बस्नेतको छ । 

‘राज्यको ध्यान त्यता मात्रै छ, यो त झन् मान्छेको ज्यान नै गएको क्षेत्र हो, गोबिन्दको रगत र आत्माले नेपाली भूमि फर्ता गर भनिरहेको छ’, उहाँले भन्नुभयो । 

पुनर्वासमा भारतले नेपाली भूमि मिच्न सीमामा रहेको २ सय नं पिल्लर नै गायब गरिदिएको छ । करिब २० वर्ष अघिदेखि सो पिल्लर गायब भएको नगरपालिकाका मेयर जीवनराज थापाले बताउनुभयो । 

‘न सीमा पिल्लर छ, न दशगजाको भूमि नै बाँकी छ, दशगजाको भूमिमा भारतीय सीमा सुरक्षा बल बसेर नेपाली भूमि मिच्दै गएको छ’, मेयर थापाले भन्नुभयो । 

कालापानीको जग्गा फिर्ता गर्ने बिषयसँग पुनर्वासको समस्यालाई पनि गास्नुपर्ने थापाको पनि भनाई छ । ‘यहाँको समस्या समाधान गर्ने यो नै उपयुक्त समय हो’ उहाँले भन्नुभयो । 

भारतीय सुरक्षा बलले बारम्बार नेपालीलाई सताउँछ । नेपाली जनताले कति सहने ?’ थापाले प्रश्न गर्नुभयो । 

प्रतिकृया दिनुहोस