• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

लकडाउनमा पनि बलात्कार बढ्दै, यस्ता छन् कारण

राजेश भण्डारी

राजेश भण्डारी -

काठमाडौं । धापासीमा दुई बर्षकी बालिका बलात्कृत भइन् । वैशाख दोस्रो साता १७ बर्षका किशोरले छिमेकमा सँगै खेल्ने बालिका बलात्कारको प्रयास गरेको कुरा पीडितका अभिभावकले थाहा पाएपछि प्रहरीलाई खबर गरे ।

मापसे गरेर ती किशोरले बलात्कार प्रयास गरेका थिए । महानगरीय प्रहरी वृत महाराजगञ्जले किशोर विरुद्ध मुद्धा चलायो । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।  

लकडाउनको बीचमा काठमाडौं उपत्यकामा अर्को दर्दनाक घट्ना भयो । भक्तपुरको बोडेमा दाइले सहोदर बहिनीलाई बलात्कार गरे । 

वैशाख १५ को बिहानीपख एउटै टहरामा सुतेका २३ बर्षिय दाजुले १४ बर्षिया बहिनीलाई बलात्कार गरेका हुन् । ‘हाडनाता करणी’ मुद्धामा बहिनी बलात्कार गर्ने दाइ अहिले महानगरीय प्रहरी वृत्त ठिमीको हिरासतमा छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले लकडाउनको निर्णय गरेसँगै जनता आ–आफ्ना घरमा छन् । अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन सरकारले कडाई गरेको छ । यस्तो बेला पनि बलात्कारका घट्ना हुनु चिन्ताजनक भएको छ र्। हो । तर, घटेको छैन् । 

देशभरको तथ्यांक हेर्दा लकडाउन अघिका दिनको हाराहारी नै बलात्कारका घटना भएको छ । अर्थात्, लकडाउनमा बलात्कार घटेको छैन ।

काठमाडौं उपत्यका सहित कत्तिपय जिल्लामा बलात्कार जस्तो जघन्य अपराध बढिरहेको छ । 

लकडाउन शुरु भएपछि तुलनात्मक रुपमा बलात्कार घट्ने अपेक्षा गरिएको थियो । तर, बलात्कार पुरानै ग्राफमा देखिएको छ । उपत्यका तथा केही प्रदेशमा त्यो संख्या बढेको छ । 

लकडाउन शुरु भएपछि प्रदेश–५ मा सवैभन्दा धेरै बलात्कार मुद्धा दर्ता भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश–५ मा सवैभन्दा धेरै ३३ वटा मुद्धा दर्ता भएको छ । 

चैत महिनामा अन्य प्रदेशको तुलनामा प्रदेश–१ मा बलात्कारको घटना धेरै भएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार चैतमा प्रदेश–१ मा ३४ बलात्कार र १७ वटा बलात्कार उद्योगको मुद्धा दर्ता भएको छ । 

लकडाउनमा बलात्कार घट्नुको साटो बढ्नुको कारणबारे अपराध विष्लेषक दिपेश केसी भन्छन्–‘बलात्कार नजिकका आफन्त र चिनेजानेका मान्छेबाट हुन्छ । मान्छे सुरक्षित पनि आफ्नै घरमा हुन्छ, असुरक्षित पनि आफ्नै घरमा हुन्छ । लकडाउनको अवधीमा राम्रो काममा भन्दा पनि मान्छेको ध्यान नकारात्मकतामा गएको छ । त्यसैले जति लकडाउन बढ्छ उति अपराधका घटना बढदै जान्छ ।’ 

उपत्यकामा मात्रै ३७ बलात्कार 

लकडाउन शुरु भएपछि काठमाडौं उपत्यकामा मात्र ३६ बलात्कारका घटना भएका छन् । 

गत फागनु र चैतको तथ्यांक हेर्दा उपत्यकामा चैतमा धेरै बलात्कार भएको देखिन्छ । ११ चैतमा लकडाउन शुरु भएपछि त्यो संख्या बढेको महानगरीय प्रहरी कार्यालय रानिपोखरीको तथ्यांकबाट देखिएको छ । 

उपत्यकामा लकडाउन शुरु भएपछि चैत महिनामा ३० वटा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका घटना भए । ती मध्ये २० वटा घटना काठमाडौं जिल्लामा मात्रै भएका छन् । 

लकडाउनपछि उपत्यकामा बाल यौन दुराचारका तीनवटा घटना भए । तर, फागुनमा बालयौन दुराचारको एउटा मात्रै घटना भएको थियो । 

बलात्कार परिवार भित्र र चिनेजानेकाबाट बढी हुने हुनाले परिवार सचेत हुनुपर्ने बताउँछन् पूर्व डिआईजी हेमन्त मल्ल । बलात्कार बढ्नुको कारणबारे उनी भन्छन्–‘अन्य ब्यस्तता छैन, मानिसहरु टोल, छिमेकमा केन्द्रित भएका छन्, त्यसैले निकटता बढेपछि बलात्कार बढ्ने हो, अहिले त्यहि भएको हो, यो संख्या अझै बढ्न सक्छ ।’ 

लकडाउनसँगै अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन बन्देज गरिएको छ । छिमेकमा पहिले मुस्किलले बिहान–बेलुक एकपटक देखापर्नेहरु अहिले दिनभर टोल छिमेकमा हुन्छन् । समाजमा निकटता बढेपछि बलात्कार बढ्छ । पेशा, ब्यवसाय के हुने भन्ने तनावमा छन् मानिसहरु । 

तनावले मान्छेलाई आपराधिक काम गर्न प्रेरित गर्ने हुनाले बलात्कार र आत्महत्या बढ्ने बताउँछन् अपराध विष्लेषक केसी । उनी भन्छन्–‘बलात्कार अझै बढ्न सक्छ, त्यसलाई व्यवस्थापन गर्नु राज्यका लागि ठूलो चुनौती हो ।’ दीपेश भन्छन्– ‘लकडाउनका बेला अभिभावक चनाखो हुनुपर्छ ।’

प्रतिकृया दिनुहोस