• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सुलभ अग्रवालको बयान–‘फ्याक्ट्रीकाे मजदूरका लागि न्यूरोडबाट उठाएको थिएँ थर्मल गन’ 

राजेश भण्डारी

काठमाडौं । कालोबजारीको अभियोगमा पक्राउ परेका व्‍यापारिक घराना शंकर ग्रुपका मालिक सुलभ अग्रवालले आफ्नै फ्याक्ट्री लागि थर्मल गन किनेको बयान दिएका छन् । 

महानगरीय अपराध महाशाखाले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको थियो ।

पक्राउपछि प्रहरीले उनीसँग प्रारम्भिक बयान लिएको छ । प्रहरीसँगको बयानमा उनले भनेका छन्–‘लकडाउन भन्दा पहिला हाम्रो फ्याक्ट्रीमा इन्ट्रि गर्नुअघि मजदूरको तापक्रम लिन थर्मल गन किनेको थिएँ ।’ 

तर, लकडाउन सुरु भएपछि फ्याक्ट्री बन्द भएकाले ती थर्मल गन बेच्न खोजेको सुलभले प्रहरीसँग बयान दिएका अपराध महाशाखाका एक अधिकृतले सनराइज खबरलाई जानकारी दिए । 

सुलभ नेपालका लागि किर्गिजिस्तानका अवैतनिक दूत हुन् । 

अर्बपतिलाई १० लाखको लोभ 

ग्राहक बनेर सादा पोशाकका प्रहरीले सुलभसँग एउटा थर्मल गन बराबर १६ हजार रुपैयाँमा ‘खरिद डिल’ गरेका थिए । 

ती थर्मल गन नेपाली बजारमा तीन हजार रुपैयाँमा पाइन्छ । मंगलबार ६६ थान ज्वरो नाप्ने गन किन्न महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोली १० लाख रुपैयाँ बोकेर नक्साल पुगेको थियो ।

‘हामीले १० लाख रूपैयाँमा खरिद डिल गरेका थियौं’ महानगरीय अपराध महाशखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले भने–‘ग्राहक बनेर उनलाई नियन्त्रणमा लिएका हौं ।’ 

चीनबाट झिकाएका थिए

सुलभले व्‍यापारीक प्रयोजनका लागि थर्मल गन नल्याएको दाबी गरेपनि प्रारम्भिक अनुसन‍धानमा महँगो मूल्यमा बेच्नकै लागि चीनबाट ती गन ल्याएको खुलेको छ । 

चैत २१ मा नेपाल एयरलाइन्सको वाइडबडी विमानमा चौधरी फाउन्डेशन, नर्भिक अस्पताल लगायत निजी क्षेत्रले ल्याएको स्वास्थ्य सामग्रीमध्ये ठूलो परिमाणमा थर्मल गन थियो । 

ती थर्मल गन सुलभले ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।     

पक्राउ गर्ने बेला आवेशमा प्रहरीको गाडीको लुकिङ ग्लास समेत फुटाएका सुलभलाई कालाबजारी विरुद्धको ऐन अनुसार मुद्दा चलाइने  एसएसपी  थापाले जानकारी दिए । 

यो पनि पढौं–

अर्बपति व्यापारी सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ 

प्रतिकृया दिनुहोस