किसान तरकारी खेतीतर्फ आकर्षित
दैलेख । सडक र सिँचाइको सुविधा पुगेपछि दैलेखका दुर्गम क्षेत्रका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँमै मध्यपहाडी सडक र घरमै सिँचाइ कुलो निर्माण भएपछि दैलेखका जगनाथ, पगनाथ, मनघरका १५० किसान अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
मध्यपहाडी लोकमार्ग गाउँ भएरै जान थालेपछि किसानले उत्पादन गरेका तरकारीको बजार पहुँच सहजै हुने र त्यसको बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि त्यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ लागेको छन् ।
दैलेख र जाजरकोटको सिमानामा पर्ने भगवतीमाई गाउँपालिका–४ का ३० वर्षे नेत्र थापाले विगत ५ वर्षदेखि तरकारी खेती गरिराखेका छन् । अगुवा कृषकको सम्मान पाएपछि उनले टोलभरिका सबैलाई तरकारी उत्पादनका बारेमा सिकाउने गर्छन् । विशेष काम बाहेकको सबै समय तरकारी उत्पादनकै लागि व्यतित हुने गरेको थापाले बताए ।
अहिले गाउँभरि १५० जना किसान व्यावसायिक तरकारी उत्पादनमा लागेको थापा ले बताए ।
गाउँबाटै मध्यपहाडी सडक र घरमै सिँचाइ पोखरी पाएपछि तरकारी खेतीलाई किसानले मुख्य आम्दानीको स्रोत बनाएका छन् । किसानले नै नौ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याएका छन् ।
१५० किसानका लागि विभिन्न वडामा तरकारी उत्पादनमा सजिलो होस् भनेर आठ वटा पोखरी निर्माण गरिएको छ । भगवतीमाई गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले ८८ लाख रुपैयाँको लागतमा आठ वटा पोखरी निर्माण गरेको छ । अहिले मनघर, जगनाथ र पगनाथका बासिन्दा मौसमी तथा बेमौसमी सबै तरकारीको व्यावसायिक उत्पादनमा जुटेका छन् ।
वडाकै पहलमा २ वर्षअघि खानेपानीको समस्या समाधान भएको थियो, अहिले सिँचाइ पोखरी बनेपछि मनघर तरकारी पकेट क्षेत्र निर्माण गरेर किसानको आयआर्जन बढाउने र गाउँमै रोजगारी दिने अभियान शुरु गरिएको वडा नं ४ का वडाध्यक्ष कृष्णबहादुर थापाले बताए ।
प्राकृतिक प्रकोपबाट किसानले लगाएको बाली जोगाउने अभियानअन्तर्गत बाली बीमा अनिवार्य गराउने अभियानमा वडा कार्यालय लागेको छ । मध्यपहाडी सडक सञ्चालन भएकाले किसानले उत्पादन गरेको तरकारी सहजै बिक्री वितरण हुने गरेको छ । रासस


प्रतिकृया दिनुहोस