लाहुरे प्रेमबहादुरको उदाहरणीय पौरख (भिडियाे सहित)
विक्रम केसी -
दमक, झापा । ‘मेरो छोरा दिपेश विदेश जाँदैन, जादिन भन्छ’– गर्वसाथ प्रेमबहादुरले सुनाए । छोरा दिपेश कलेज पढ्दैछ, उनलाई यूरोप अमेरिका पठाउने हैसियत राख्छन् प्रेमबहादुर ।
छोरा दिपेशलाई विदेश जानबाट केले रोक्यो ? बुवाआमाको मायाले पनि रोकेको होला तर मुख्य कारण चाहिँ कुखुरा हो । प्रेमबहादुरले कुखुरा पालेका छन् झापाको दमकमा ।
सामान्य कुखुरा पाल्दैनन् प्रेमबहादुर बेघा लिम्बू । निख्खर लोकल कुखुरा पाल्छन् । त्यसबाहेक उनले पोलिस र सिल्की कुखुरा पनि पालेका छन् जसलाई एक जोडीको सातआठ हजार रुपैयाँमा बेच्छन् ।
दमकको डाडागाउँमा रहेको प्रेमको पाथीभरा कृषि फर्म झापामा मात्र नभएर पूर्वाञ्चलभर चर्चित छ ।

लाहुरे जीवन
दस वर्ष भयो प्रेमले दमकमा कुखुरा पाल्न थालेको । त्यस अघि २२ वर्ष भारतीय सेनामा बिताए । अवकाश लिने बेला भारत उत्तर प्रदेशको पन्तनगर र देहरादुनको धार्चुलामा कृषि तालिम लिएका थिए ।
प्रेमबहादुरको जीवनमा एकातिर २२ वर्ष भारतमा लाहुरे बन्दाको अनुभव छ अर्कातिर दस वर्ष कुखुरा पाल्दाको अनुभव छ । लाहुरे बन्दा उनी जागिरे बने, कुखुरा पाल्दा मालिक बने । भन्छन्– ‘म स्वरोजगार सिर्जना गर्नुपर्छ भन्छु । लोकल कुखुरा पाल्न सिकाउँछु, सहयोग गर्छु, मसँग सिकेर सयौं परिवार स्वरोजगार बनेका छन्, यसमा गर्व लाग्छ ।’
लाहुरबाट फर्किएर दमक आएपछि उनी केही महिना त्यसै बसेका थिए । त्यस अवधीमा सोचविचार गरे । बजार हेरे । त्यसपछि लोकल कुखुराका दुई सयवटा चल्ला ल्याएर व्यवसाय थाले । त्यही चल्लाबाट आज उदाहरणीय पंक्षी फर्म बनेको छ ।

हो, पाथीभरा कृषि फर्मलाई कुखुरा फर्म मात्र भन्न मिल्दैन । किनभने कुखुरा मात्र छैन यहाँ । हाँस, टर्की, बट्टाई, परेवा पनि छ । पोलिस कुखुरा, कालो कुखुरा पनि छ । परेवा जोडीको तीन हजार रुपैयाँसम्ममा बेच्छन् ।
उनी अहिले चल्ला उत्पादक पनि बनेका छन् । ‘मेरोबाट चल्ला लगेर सयौं परिवारले लोकल कुखुरा पालन गरेका छन्’– प्रेम भन्छन् ।
लोकल नै किन ?
प्रेमले कहिल्यै ब्रोइलर तथा अन्य विकासे जातका कुखुरा पालेनन् । बरु, पूर्वाञ्चलको पहाडी जिल्लामा पाइने कालो कुखुरा पनि प्रशस्त पालेका छन् । कालो कुखुराको मासु पनि कालै हुन्छ । मासुका रुपमा मात्र नभएर औषधीको रुपमा पनि खाइन्छ कालो कुखुराको मासु ।
‘विकासे कुखुरा औषधी खुवाएर हुर्काइन्छ, मासु स्वथ्यकर हुँदैन’– प्रेम भन्छन्– ‘स्थानीय जातको कुखुरा पाल्यो भने रोग पनि धेरै लाग्दैन, धेरै औषधी पनि खुवाउनुपर्दैन, मासु पनि स्वस्थ हुन्छ । त्यही भएकाले लोकल नै पालें ।’
हेर्नुहाेस् भिडियाेमा
तरिका मिलाएर तथा आधुनिक तरिकाले पाल्यो भने लोकल कुखुराले मनग्ये आम्दानी दिन्छ भन्छन् । ‘लोकल कुखुरा पालौं, स्वरोजगार बनौं, सबैलाई मैले यही भन्ने गरेको छु, मेरो कारणले धेरैजना स्वरोजगार बनेका छन्, यसमा गर्व लाग्छ’– प्रेम भन्छन् ।
प्रेमले गर्व मान्नुपर्ने अर्काे पनि कुरा छ । अरुलाई स्वरोजगार बन भन्दै प्रेरित गर्ने प्रेमका छोरा कुखुरा पालनमा पूर्ण समर्पित छन् । कलेजको पढाईसँगै उनी फर्ममा काम गर्छन् । पत्नी धनकुमारी पनि बिहानदेखि रातिसम्म कुखुरा फर्ममै व्यस्त हुन्छिन् ।
विकास र स्वरोजगार
प्रेमको फर्मबाट कुखुरा र चल्ला भारतको दार्जिलिङ सिक्किमसम्म जान्छ । पश्चिम नेपालको काठमाडौं, बुटवलसम्म जान्छ । उनी भन्छन्– ‘बजारको व्यवस्था सरकारले गरिदिनुपर्छ । सरकारले तालिम र सीप दिनुपर्छ । स्वरोजगार सिर्जना नगरी विकास हुँदैन ।’

‘हामीले स्थानीय सीप र प्रविधिलाई आधुनिक रुप दिनुपर्छ, स्वरोजगार सिर्जना गर्नुपर्छ, मैले आफ्नो लागि मात्र यो काम गरेको होइन, अरुले सिकुन् भनेर पनि गरेको हूँ’– उनी भन्छन्– ‘म एकजना साधारण व्यक्ति त अरुलाई सहयोग गर्न तयार छु भने सरकार सहयोग गर्न अगाडि सरेको खोई ?’
सरकारले स्वरोजगार सिर्जना गर्नभन्दा युवालाई विदेश पठाउन जोड दिएकोमा उनको गुनासो छ ।
भन्छन् ‘मेरा व्याजीहरु (सेनामा सँगै काम गरेकाहरु) कसैले पनि यस्तो काम गरेको थाहा छैन । सबैले केही न केही काम गरेर स्वरोजगार बन्नुपर्छ ।’


प्रतिकृया दिनुहोस