वर्षाको कारण सोलु जाने पर्यटक मन्थलीमा नै रोकिए
रामेछाप । बिहीबार बिहानदेखिको वर्षाको कारण रामेछापको मन्थलीबाट सोलुको लुक्ला जाने पर्यटकहरू रोकिएका छन् ।
वर्षाको कारण मन्थली–लुक्ला उडान अवरुद्ध भएपछि पर्यटकहरू मन्थलीमा नै राखिएका हुन् । वर्षाको कारण मन्थली र लुक्लाको मौसम खराब हुँदा सोलु जाने ५० जना बढी विदेशी पर्यटकहरू मन्थलीमा अड्किएका छन् । बिहीबार बिहानदेखि नै मन्थली–लुक्ला उडान हुन नसकेको मन्थली विमानस्थल प्रमुख हिरोण शाहले जानकारी दिनुभयाे ।
उडान अवरुद्ध हुँदा मन्थलीबाट लुक्ला जाने मात्र होइन लुक्लाबाट मन्थली हुँदै काठमाडौं फर्कने पर्यटक पनि प्रभावित भएका छन् । अहिले लुक्ला जाने भन्दा फर्कने पर्यटकको सङ्ख्या बढी रहेको छ । वसन्त ऋतुमा सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटक फर्कने सिजन अहिले चलिरहेको छ ।
चैतदेखि सुरु भएको यो सिजन जेठसम्म चल्छ । सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई चैतदेखि जेठ महिनासम्म र असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमानस्थलमार्फत बाट लुक्ला लैजाने र ल्याउने व्यवस्था मिलाएको छ ।


प्रतिकृया दिनुहोस