पिकनिक स्पोर्ट बन्दै पकरबासको मदन भण्डारी पार्क
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी वन क्षेत्रमा निर्माण गरिएको मदन भण्डारी पार्क पिकनिक जानेहरूका लागि रोजाइको ठाउँ बन्न लागेको छ ।
सो पार्कमा पिकनिक खान जाने मासीहरूको सङ्ख्या बाक्लै देखिन लागेको छ । जिल्ला सदरमुकाम मन्थलीबाट आधा घण्टाको दुरीमा रहेको सो पार्कमा मन्थलीको गर्मी छल्न जाने मानिसहरू बाक्लै देखिन लागेका छन् । यसको साथै खाँडादेवी मन्दिर दर्शन गर्न जाने मानिसहरू पनि सो पार्क घुम्न र पिकनिकको लागि जाने गरेका खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलले बताउनुभयाे।
सल्लेनी सामुदायिक वनको खालि जग्गामा बनेको सो पार्क निर्माणको लागि सुरुमा खाँडादेवी गाउँपालिकाले १० लाख रुपैँया विनियोजन गरेर डिपिआर गरेको थियो । पति रामेछापका कैलाशप्रसाद ढुङ्गेल वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा सो पार्क निर्माणको लागि प्रदेश सरकारले ५० लाख रुपैँया विनियोजन गरेको थियो । सोही बजेटबाट शौचालय, कम्पाउण्ड निर्माण, मदन भण्डारीको प्रतिमा स्थापना लगायतका काम भएका छन् ।
.jpg)
यसका साथै सो पार्कमा पिकनिक स्पोर्टको लागि वडा कार्यालय र गाउँपालिकाले खानेपानी, किचन लगायतका व्यवस्था पनि मिलाइएको छ । जिल्ला वन कार्यालयसँग समन्वय गरी पोखरी निर्माणको काम गर्ने पौडेलले जानकारी दिए । त्यस्तै गाउँपालिकाबाट विनियोजन भएको १५ लाख रुपैँयाबाट थप निर्माणको काम हुने पौडेलले बताए । ‘यो आर्थिक वर्ष भित्र यसलाई खाँडादेवीको एउटा रमणीय पर्यटकीय स्थल बनाउँछौँ’, पौडेलले भन्नुभयाे।
पिकनिक स्पोर्ट मात्र होइन मन्थली पुगेकालाई घुम्ने थलो पनि यो पार्क बनेको छ । सल्लाको वन भित्र रहेको पार्क प्राकृतिक हिसाबले पनि निक्कै मनोरम छ ।


प्रतिकृया दिनुहोस