उमाकुण्डमा खुल्ला अन्तरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु
रामेछाप । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उमाकुण्ड गाउँपालिकाको प्रयोजन, ३ नं वडा कार्यालयको सहप्रायोजन, उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा ३ नं वडा खेलकुद विकास समितिको व्यवस्थापनमा खुल्ला अन्तरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ ।
बिहीबार उमाकुण्ड गाउँपालिका वडा नं ३ को धोबिटार खेलमैदानमा सुरु भएको खेल खेलकुद विकास समितिका अध्यक्ष सुदिप सुनुवारको अध्यक्षता तथा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठ, भूमि समस्या समाधान आयोग रामेछापकी सदस्य गङ्गा कार्की, गाउँपालिका प्रवक्ता एवं ७ नं वडाका अध्यक्ष रुद्रमणि नेवार, २ नं वडाका अध्यक्ष खम्बध्वज बस्नेत, ६ नं वडाका अध्यक्ष भरतराज खड्का, नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य जीतबहादुर कटवाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य अनिल कार्की, उमाकुण्ड गाउँपालिका नेकपा एमालेका अध्यक्ष नवराज खत्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष अनन्त कुमार खड्का, नेकपा एकीकृत समाजवादीका नेतृ आङ काँडु शेर्पा, वडा सदस्यहरू, पुर्ववडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापकहरू, वडा खेलकुद विकास समितिका संयोजकहरू, शिक्षक, कर्मचारी, पत्रकार, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो ।
.jpg)
खेल शुभारम्भ कार्यक्रममा जनता स्काउट ट्रुपको मार्च पास, पञ्चेबाजा, शेर्पा र सुनुवार समुदायको सांस्कृतिक झाँकी सहित प्रदर्शन गरिएको थियो ।
खेलमा भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, रामेछाप गरी पुरुष तर्फ ९ टिम र महिला तर्फ ७ टिम गरी कुल १६ टिमको सहभागी रहेको छ ।
बिहीबार भएको पहिलो उद्घाटन खेलमा लिखुपिके गाउँपालिका सोलुखुम्बु र गोकुलगंगा गाउँपालिका रामेछाप, दोस्रो खेलमा खाँडादेवी गाउँपालिका रामेछाप र लिखु तामाकोसी गाउँपालिका रामेछाप बिच प्रतिस्पर्धा भएको थियो । खेलमा गोकुलगंगा गाउँपालिकाले लिखुपिके गाउँपालिका र खाँडादेवी गाउँपालिकाले लिखु तामाकोसीलाई हराएका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । द्वितीय र तृतीय हुनेले क्रमशः ७५ हजार र ५० हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कार राशि महिला पुरुष दुवै टिमका लागि समान कायम गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुष खेलाडीलाई जनही ५ हजार नगदसहित ट्रफी, उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर र डिफेन्डरलाई जनही ३ हजार नगदसहित ट्रफीद्वारा सम्मान गरिनेछ । प्रतियोगिता चैत ३० गतेसम्म चल्ने छ ।


प्रतिकृया दिनुहोस