अरविन्द केजरीवालले लिए मुख्यमन्त्रीको सपथ
काठमाडौं । अरविन्द केजरीवालले भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् ।
केजरीवाललाई दिल्लीको रामलिला मैदानमा एक समारोहबीच लेफ्टिनेन्ट गभर्नर अनिल बाइजलले सपथ खुवाएका हुन् । सपथपछि मुख्यमन्त्री केजरीवालले यो जित आफ्नो नभएर सबै जनताको भएको बताए । उनले भने– ‘यो मेरो होइन तपाइहरुको जित हो, चुनावमा जसलाई भोट दिएपनि अबदेखि म सबैको मुख्यमन्त्री हूँ ।’
अघिल्लो कार्यकालमा जनताको मुहारमा खुसी ल्याउने प्रयास गरिएको स्मरण गर्दै उनले भने– ‘अब निरन्तर रहने छ ।’ केन्द्र सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सबैलाई साथ दिन आग्रह गरे ।
उनीसँगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन तथा राजेन्द्र पाल गौतमले पनि मन्त्री पदको सपथ लिए ।
गत साता सम्पन्न दिल्ली विधानसभा चुनावकाे मतगणनामा केजरीवालको आम आदमी पार्टी (आप) ले ७० सिटमध्ये ६२ सिट जितेकाे थियाे । जसमा अापले बहुमत हासिल गरेको थियो ।
सो चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले ८ सिट मात्र जितेको थियो । भारतीय कांग्रेसले भने एक सिट पनि जित्न सकेन ।
सपथ लिएसँगै केजरीवाल तेस्रो पटक दिल्लीका मुख्यमन्त्री बनेका छन् । यसअघि उनी सन् २०१३ र २०१५ मा दिल्लीको मुख्यमन्त्री बनेका थिए । सन् २०१३ मा चुनावमा आम आदमीले २८ सिट जितेको थियो । उसले कांग्रेसको सर्मथनमा करिब दुई महिना मात्र अर्थात ४९ दिन मात्र सरकार चलाएको थियो ।
२०१५ को विधानसभा चुनावमा आपले ६७ सिट जितेको थियो । सरकार चलाउने क्रममा आम आदमीले शिक्षा, स्वास्थ्य, पानी र विजुलीमा सहुलियत दिएको थियो ।


प्रतिकृया दिनुहोस