• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कोरोनाले निधन हुनेको संख्या १६ सय नाघ्यो, ६९ हजार संक्रमित

विदेश डेस्क

विदेश डेस्क

एजेन्सी ।  कोरोना भाइरस (कोभिड–१९) काे संक्रमणबाट निधन हुनेको संख्या एक हजार ६ सय ६९ पुगेको छ । 

चीन, हङकङ, फिलिपिन्स, जापान र फ्रान्समा गरी एक हजार ६ सय ६९ जनाको निधन भएको हो । कोरोनाबाट शनिबार युरोपियन देश फ्रान्समा एक चिनियाँ नागरिकको निधन भएको थियो । ती व्यक्ति हुबेईबाट भ्रमणमा लागि फ्रान्स गएका बताइएको छ ।

चीनमा मात्र अहिलेसम्म एक हजार ६ सय ६५ जनाको निधन भइसकेको छ । चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको निधन भएको छ । चिनियाँ स्वास्थ्य आयोगले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार शनिबार मात्रै १ सय ४२ जनाको निधन भएको छ । 

चीनमा मात्रै संक्रमितको संख्या ६८ हजार ५ सय नाघेको आयोगले जनाएको छ । त्यहाँ शनिबार दुई हजार नौ जना नयाँ संक्रमित थपिएका थिए । भाइरसको उद्गमस्थल हुबेईको वुहानमा सबैभन्दा धेरै एक हजार एक सय २३ जनाको निधन भइसकेको छ । हुबेईमा मात्र ५४ हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ । 

विश्वभर भने कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ हजार पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।  नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका बताइएको छ । 

वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका करिब २५ देशमा देखिएको छ । चीन पछि जापानमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढी छ ।
 
 

प्रतिकृया दिनुहोस