• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

दाङको देउखुरीमा सुरु भयो प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता  

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु भएको छ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ तथा क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गर्नु भएको हो । 

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सिद्धार्थ रङ्गशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन हुँदै छ । 

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनु भयो । ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ’, उहाँले भन्नुभयो ।  

खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उहाँले बताउनुभयो । यसमा प्रदेश सरकारले निरन्तर काम गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलो पटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताउनु भयो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ । 

 

प्रतिकृया दिनुहोस