• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

रुद्राक्ष बेचेरै भोजपुरले वार्षिक २० करोड रुपैँया भित्र्याउँदै 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं ।रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ ।  

जिल्लामा रुद्राक्षबाट वार्षिक १५ देखि २० करोड रुपैँया भित्रने गरेको छ । रुद्राक्ष व्यवसायी  सङ्घका सचिव उत्तम कटुवालका अनुसार बजारमा २१ मुखे मुखद्वार भएको एउटा दाना रुद्राक्षको २० देखि ६० लाख रुपैँयासम्म पर्दछ ।  ८ देखि २९ मुखसम्म भएका दानालाई मुखदार भनिन्छ । बजारमा सबै भन्दा बढी २१ मुखे दानाको माग रहेको छ । 

सचिव कटुवालका अनुसार आठ मुखे, बाह्र मुखे मुखद्वार दाना आकारको आधारमा १ हजार ५ सयदेखि ५ हजार रुपैँयासम्ममा बिक्री हुने गरेको छ । त्यस्तै १३ मुखे दाना ५ पाँच हजारदेखि १५ हजारसम्म, १४ र १५ मुखे दाना आकारको आधारमा १० हजारदेखि ५० हजार रुपैँयासम्म बिक्री हुने गर्दछ । 

१६ मुखे दाना ५० हजारदेखि १ लाखसम्म, १७ मुखे ७० हजारदेखि २ लाखसम्म, १८ मुखे १ लाख ५० हजारदेखि ४ लाखसम्म र २१ मुखेलाई २० लाखदेखि ६० लाख रुपैँयासम्म पर्दछ । विगतमा बिक्री हुने ५ र ६ मुखे दानाको भने बजारमा माग नरहेको उहाँले जानकारी दिनुभयो । अन्य दाना भने न्यून मूल्यमा बिक्री हुने गर्दछ ।   

रुद्राक्षलाई राज्यले नगदे बालीको रूपमा राखिदिए थप सहजता हुने  किसानहरूको भनाइ छ । अहिले को कानुन अनुसार रुद्राक्ष बिक्री गर्न केही झञ्झट छ ।    रुद्राक्षलाई वन पैदावारको रूपमा राखिँदा बजारीकरणमा समस्या छ ।

षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेनीपानी, साल्पासिलिछो गाउँपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ । रुद्राक्षको दाना चोरी हुने, बोट काटिदिने समस्या बढेकोले किसानले यसको सुरक्षासमेत गर्दै आएका छन् । 

भोजपुरबाट यो वर्षको माघ महिनासम्म करिब ७० हजार केजी रुद्राक्ष निर्यात भएको डिभिजन वन कार्यालय भोजपुरका सहायक वन अधिकृत विजय यादवले जानकारी दिनुभयो । यहाँको रुद्राक्षको मुख्य बजार सङ्खुवासभाको खाँदबारी हो । खाँदबारीबाट तराईका जिल्ला, काठमाडौँ हुँदै चीन र भारतमासमेत रुद्राक्ष निर्यात हुने गर्दछ । यहीबाट युरोप र अमेरिकालगायतका मुलुकमासमेत रुद्राक्ष निर्यात हुन्छ । 

प्रतिकृया दिनुहोस