• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

भाडामा जग्गा लिएर तरकारी खेती, वार्षिक ७ लाख कमाई 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । 

दुई दशकदेखि तरकारी खेती गर्दै आउनुभएका उहाँले डेढ बिघा जग्गा भाडामा लिएर तरकारी लगाउनुभएको छ । वर्षमा सार्कीले ७ लाख रुपैँया बढीको तरकारी बिक्री गरी राम्रो आम्दानी लिँदै आउनुभएको छ । तरकारी खेतीको कमाइबाट चार जनाको परिवारको खर्च राम्रोसँग धान्दै आउनुभएको छ । 

अरूको जग्गामा बस्दै आउनुभएका सार्कीले तरकारी खेतीबाट आएको आम्दानीबाट घरबारका लागि एक कट्ठा जग्गा खरिद गर्नुभएको छ । ‘तरकारी खेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरेँ,जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ, घरको पूरै खर्च तरकारी खेतीले धानिएको छ’, उहाँले भन्नुभयो । 

तरकारी खेती नै कमाइ गर्ने एक मात्र माध्यम रहेको सार्की बताउनुहुन्छ । पहिले नदीको बगरमा सार्कीले मौसमी रूपमा तरकारी खेती गर्नुहुन्थ्यो । बगर खेती गर्दै जाँदा व्यावसायिक खेती गर्ने हिम्मत जागेको उहाँ बताउनुहुन्छ । आफन्तबाट केही रकम सापटीका रूपमा लिएर तरकारी खेती सुरु गरेको उहाँले बताउनुभयो । 

कृषि ज्ञान केन्द्रबाट सार्कीले व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम लिनुभएको छ । तालिम लिएपछि उहाँलाई काममा थप सहज भएको छ ।  

दुई दशक भारतमा काम गर्नुभएका सार्की तरकारी खेतीबाटै भारतको भन्दा तेब्बर बढी कमाइ हुन थालेपछि स्वदेशमा काम गर्न थालेको बताउनुहुन्छ । कृषि कार्यमा राम्रो कमाइ हुने भएकाले भारतमा रहेका छोरालाई आफूसँगै सघाउन घर बोलाउने सोच सार्कीको छ ।  श्रीमान् र श्रीमती दुवैले काम गर्न नभ्याएपछि अहिले उहाँहरूले तीन जना दैनिक ज्यालादारीका कामदार राख्नु भएको छ। । 

मौसमीभन्दा बेमौसमी तरकारीमा बढी आम्दानी हुने भएकाले त्यसमा उहाँले बढी जोड दिँदै आउनुभएको छ । सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्न पावरटिलरको व्यवस्था भए अझ उत्पादन बढाउन सकिने उहाँको भनाइ छ । 

 

प्रतिकृया दिनुहोस