रामेछापमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा आजबाट १३ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजना र मन्थली नगरपालिकाको व्यवस्थापनमा सुरु भएको प्रतियोगिता माघ ३० गतेसम्म सञ्चालन हुने छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीका अनुसार प्रतियोगितामा रामेछापका दुई नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७ सय ३९ जना खेलाडीले भाग लिँदै छन् ।
६६ वटा स्वर्ण पदका लागि भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, र कराँते जस्ता खेलहरू सञ्चालन हुने छन् । प्रतियोगिताको वाग्मती प्रदेश सभा सदस्य तथा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उद्घाटन गर्नुभयाे ।
प्रतियोगिता सञ्चालनको लागि १२ लाख रुपैँया लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा पहिलो हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैँया नगद पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै स्काउट मार्च पास प्रदर्शनीमा पहिलो हुने पालिकाकालाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैँया नगद पुरस्कार प्रदान गरिने छ ।


प्रतिकृया दिनुहोस