स्वदेश फर्कियो नेपाली खो खो टिम (तस्विरहरु)
काठमाडौं । पहिलो संस्करणकाे खो खो विश्वकप प्रतियोगितामा उपविजेता भएको नेपाली पुरुष टोली र महिला टोली स्वदेश फर्किएको छ ।
टाेली साेमबार दिउँसाे स्वदेश फर्किएकाे हाे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रथम खो खो विश्वकपका ऐतिहासिक पदक विजेता खेलाडीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेकाे थियाे ।
राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जन लगायतकाे टाेली खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगेकाे थियाे ।
त्यसक्रममा सदस्य सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ मा व्यवस्था भए बमोजिम नै खेलाडीलाई पुरस्कृत गरिने बताउनुभयाे उहाँले १५ दिनभित्र आवश्यक कागजात पेश गर्न खो खो संघलाई निर्देशन दिनुभयाे ।
कप्तानद्वय हेम पनेरु र सरस्वती कडायतले पदक जित्ने लक्ष्यका साथ विश्वकपमा सहभागी भएको बताउँदै लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे ।
दुवैतर्फका फाइनलमा नेपाल भारतसँग पराजित भएको हो ।
भारतको नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी इन्डोर हलमा माघ ६ गते राति सम्पन्न फाइनल खेलमा नेपालको पुरुष टिम आयोजक भारतसँग ५४-३६ अंकले पराजित भयाे । पुरुषतर्फ नेपाल समूह 'ए' को उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेक थियाे । नेपाल पहिलो खेलमा भारतसँग ४२-३७ अंकले हारेकाे नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ अंकले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अंकले तथा चौथो खेलमा भुटानलाई ९८-८ अंकले हराएको थियो । नेपालले क्वार्टरफाइनलमा बंगलादेशलाई ६७-१८ अंकले र सेमिफाइनलमा इरानलाई ७२-२० अंकले पराजित गरेको थियो ।
महिलातर्फ पनि नेपाल फाइनल खेलमा ७८-४० अंकले भारतसँग पराजित भयाे । अपराजित रहँदै फाइनलमा पुगेकाे नेपालले सेमिफाइनल खेलमा युगााण्डालाई ८९-१८ अंकले पराजित गरेको थियो । क्वार्टरफाइनल खेलमा इरानलाई १०३-८ अंकले हराउँदै नेपाल सेमिफाइनलमा पुगेकाे थियाे ।
समूह 'सी' मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४ अंकले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ अंकले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० अंकले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ अंले पराजित गरेको थियो ।
नेपालको कुनै पनि खेलबाट विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो ।








प्रतिकृया दिनुहोस