• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

लमजुङका किसानले अलैँची बेचेर कमाए २२ करोड

रासस

रासस

लमजुङ । लमजुङका किसानले अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी गरेका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा लमङमा उत्पादित १ सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो १ हजार ५ सयदेखि २ हजार ४ सय रुपैयाँसम्ममा अलैँची बिक्री भएको छ । 

गत आर्थिक वर्ष २०८०-८१ मा जिल्लाका किसानले २ सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो १ हजार २ सयका दरले अलैँची बिक्री गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो । 

आर्थिक वर्ष २०७९-०८० मा  ३ सय ८० मेट्रिक टन अलैँची बिक्रीबाट २० करोड आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा ५ सय ५० देखि ७ सयसम्म बिक्री भएको थियो । 

आर्थिक वर्ष आव २०७८-०७९ मा ३ सय ३५ मेट्रिक टन अलैँची बिक्री गरी १५ करोड रुपैयाँ आम्दानी भएको थियो ।  आर्थिक वर्ष २०७७–७८ मा ३ हजार ५ सय क्विन्टल अलैँची बिक्री गरी १८ करोड २० लाख रुपैयाँ आम्दानी भएको थियो ।  आर्थिक वर्ष २०७६-७७ मा जिल्लामा २ हजार क्विन्टल अलैँची बिक्री गरेर किसानले  १२ करोड आम्दानी गरेका थिए । आव २०७५–७६ मा ७ सय ५० क्विन्टल अलैँची बिक्री गरी किसानले ५ करोड २५ लाख आम्दानी गरेका थिए । 

लमजुङमा सबैभन्दा बदी मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् । मर्स्याङ्दी-५ सन्जापुका स्थानीयले मात्र यस वर्ष ६ हजार ७ सय केजी अलैँची बिक्री गरी १ करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशी गुरुङले बताउनुभयो । गाउँका करिब ६० घरधुरीले लगाएको अलैँचीखेतीबाट उक्त आम्दानी भएको हो । 
भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरुको भनाइ छ । 

लमजुङमा ७ सय ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि ३ सय ७५  हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।

लमजुङमा ७ सय मिटरदेखि १ हजार २ सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, १ हजार २ सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र १ हजार ६ सयदेखि २ हजार २ सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाइएका छन् । लमजुङम २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको हो । 

प्रतिकृया दिनुहोस