पर्वतारोही प्रकाशराज पाण्डेलाई अकोन्कागुआ आरोहणका लागि प्रधानमन्त्रीद्वारा नेपालको झण्डा प्रदान
काठमाडौं । विश्वका सातैवटा महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका नेपालका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्नुहुने भएको छ ।
आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिँदै शुक्रबार नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले समाजमा सकारात्मक सन्देश फैलाउने युवाहरूको सबै अभियानमा आफ्नो सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सका लागि प्रस्थान गर्दै हुनुहुन्छ ।
सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरिसक्नु भएका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान अन्तर्गत २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गर्नुभएको थियो । सोही वर्षको नोभेम्बर महिनामा उहाँले अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जाको सफल आरोहण गरिसक्नु भएको छ ।
रामेछाप लिखु तामाकोशी गाउँपालिका–७, तिल्पुङ स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका–२ ललितपुरमा बसोबास गर्दै आउनुभएका पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्नुभएको हो । । उहाँले सन् २०१८ मा सगरमाथाको आरोहण गरेयता निरन्तर हिमाल चढ्दै आउनुभएको छ ।
हिमाल चढ्ने अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरूका बारे विश्व समुदायको ध्यानाकर्षण गराउने आफ्नो लक्ष रहेको पाण्डेले बताउनुभयो । जलवायु परिवर्तन निम्त्याउन नेपालको नगण्य भूमिका भए पनि यसका कारणले नेपालले निक्कै अप्ठेरो स्थिति भोगिरहनु परेको प्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।
हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको क्रममा सातै महादेशका अग्ला हिमालहरूमा फहराएको नेपालको झण्डा नेपाली भूमिमै फर्किएर सगरमाथा पुनः फहराउने पाण्डेले बताउनुभयो । पाण्डे पर्वतारोहणका अतिरिक्त अन्तर्राष्ट्रिय युवा अभियान स्काउट र रोटरी इन्टरनेशनलमा समेत आबद्ध हुनुहुन्छ ।
स्काउटका संस्थापकको नाउँमा नामाकरण गरिएको नेपालमा रहेको हिमाल बेडेन पावेल स्काउट पिक पनि उहाँले दुई पटक आरोहण गरिसक्नु भएको छ । उहाँको अभियानमा मकालु आउटफिटले आवश्यक माउन्टेनियरिंग गियरहरू उपलब्ध गराएको छ भने अन्य व्यावसायिक तथा रणनीतिक साझेदारहरू जोडिने क्रम बढ्दै गएकोले आफ्नो अभियान छिटै सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


प्रतिकृया दिनुहोस