आकर्षक पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल
काठमाडौं । खोटाङमा किरात यले दोङ (किरात संवत) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा सुरुआत गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुभएको हो । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा ‘मुन्दुम ट्रेल’ पदमार्ग आसपास पर्ने विभिन्न स्थानीय तहहरूले आ–आफ्नो अनुकूल महोत्सव आयोजना गरेका छन् ।
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई भव्यरुपमा सफल बनाउन आसपासका स्थानीय तहहरूमा यामअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो । भ्रमण वर्षको पहिलो पहिलो कार्यक्रम अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले चखेवाभञ्याङमा पाँच दिने महोत्सव आयोजना गरेको छ ।
माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकार, विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा कृषि मेला प्रदर्शनी आयोजना गरिएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव, केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठष्टे महोत्सव, साकेला गाउँपालिकामा उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने स्थानीय तहहरूले जनाएको छ । यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाइएको छ ।
सरकारले घोषणा गरेको सय वटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’को प्रचारप्रसार तथा प्रवद्र्धनका लागि भ्रमण वर्ष २०२५ आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभाको सीमामा पर्ने मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।
खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ सौन्दर्यमा रमाउन चाहने तथा किराँती संस्कार, संस्कृति अध्ययन एवं अनुसन्धान गर्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । विसं २०७५ पुस २१ गते औपचारिकरुपमा घोषणा गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायतका आधारभूत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरिएको छ ।
यो पदमार्ग ३ हजार एक सय ६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी तथा ४ हजार १ सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्ग पूरा गर्न १० देखि १३ दिन लाग्छ ।


प्रतिकृया दिनुहोस