• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

मन्थलीमा कृषि तथा लघु उद्यम प्रदर्शनी मेला

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 रामेछाप । रामेछापको मन्थली नगरपालिकाले पहिलो पटक दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गरेको छ ।   

मेलाको मंगलबार ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले उद्घाटन गर्नुभयो । मेलामा मन्थली नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली तथा उत्पादन प्रदर्शनीमा राखिएको छ ।

५३ वटा स्टल रहेको प्रदर्शनीमा कृषक तथा उद्यमीहरूले बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फलफूल, कन्दमूल लगायतका उपज राख्नु भएको छ । 

पशुपन्छी तर्फ खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू प्रदर्शनीमा राखेका छन् । लघु उद्यम तर्फ ढाका, साबुन, सरफ,बाँसबाट बनाइएका सामाग्रीहरू होजियारी, दुना टपरी, जुस प्रदर्शनीमा राखेका छन् ।

मेलाको उद्घाटन गर्दै ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले कृषकले उत्पादन गरेका उपज तथा बस्तुहरूलाई बजारसँग जोड्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । यस्ता मेला, महोत्सवहरूले बजार चलायमान बनाउने उहाँको धारणा छ ।  

कार्यक्रममा वाग्मती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका  सभापति आनन्द श्रेष्ठले कृषिको कुरा भाषण गरेर मात्र नहुने बताउँदै माटो अनुसारको बालीलाई व्यवसायीकरणमा लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले कृषिसँग सम्बन्धित योजना बनाउन आवश्यक रहेको बताउनुभयो । 

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नगरपालिकाले कृषकहरूलाई प्रदान गरेको अनुदान सहायता कार्यक्रमको प्रभावकारितालाई हेरेर आगामी योजना बनाउन प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । नगरपालिकासँग भएको सीमित स्रोतबाट नै प्रदर्शनी आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।  

प्रदर्शनीमा सहभागी किसानहरूले प्रदर्शनीले आफूहरूलाई उत्साहित गराएको बताउनुभयो । स्थानीय सरकारले सिँचाइ, उत्पादनको बजारीकरण लगायतका क्षेत्रमा थप सहयोग गरिदिए आफूहरूलाई काम गर्न अझ उत्साहित गर्ने किसानहरूले बताउनुभयो । 

कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ, रामेछाप नगपालिका प्रमुख लबश्री न्यौपाने, रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, नगरपालिका स्थिति राजनीतिक दलका नेताहरू, विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतले नगरपालिकाले गरेको यो काम कृषि क्षेत्रको विकासका लागि सहयोगी हुने बताउनुभयो । 

 

प्रतिकृया दिनुहोस