पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको उपाधि चीनलाई
काठमाडाैं । दोस्रो संस्करणको नेपाल-चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभल, २०२४ को उपाधि चीनले जितेकाे छ ।
पोखराको फेवातालमा साेमबार सम्पन्न २ सय र ५ सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पार्याे । दोहोरो उपाधिसँगै डोङग्वानले १० हजार डलर पुरस्कार पायो ।
२०० मिटर रेसमा डोङग्वानले निर्धारित दूरी ४७.७२० सेकेण्डमा पार गर्याे । साे इभेन्टमा चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो, लिआओचिङ युनिभर्सिटी तेस्राे र युनान प्रान्तको नर्मल विश्वविद्यालय चाैथाे भयाे ।
निर्धारित ५ सय मिटरको दौडमा उपाधि जितेको डोङग्वान लाओयू क्लबले निर्धारित दुरी २.०४.४७० मिनेटमा पूरा गर्याे । साे इभेन्टमा लिआओ चेङ युनिभर्सिटी दोस्रो भयो । युहान युनिभर्सिटी तेस्रो भयो ।
प्रतियोगितामा ५ सय सय र २ सय मिटर दौडका विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ हजार अमेरिकी डलर पुरस्कार पाए ।उपविजेताले २ हजार डलर र तेस्राे हुनेले १ हजार २ सय अमेरिकी डलर पुरस्कार पाए ।
प्रतियोगितामा सहभागी टोलीलाई ५ सय डलरका दरले पुरस्कार प्रदान गरिएको छ ।
विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।
गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको साे प्रतियोगितामा २० टोलीको सहभागिता थियो । प्रतियोगितामा नेपालका ११, चीनका ८ र सिंगापुरको १ टाेली सहभागी थियाे ।
नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।
दोस्रो संस्करणको यस प्रतियोगिताले पोखराको खेल पर्यटनलाई थप उचाइमा पुराउन सफल भएको विश्वास लिइएकाे पाेखरा महानगरले जनाएकाे छ । यस ड्रागन बोट रेसको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको बहुआयामिक सम्भावनाको दायरालाई थप विस्तार गर्ने अवसर प्राप्त गरेकाे पनि महानगरले जनाएकाे छ ।














प्रतिकृया दिनुहोस