प्रधानमन्त्री ओलीद्वारा एनपीएलको उपाधि विजेता जनकपुरलाई सम्मान
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापक लगायतलाई सम्मान गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान आयाेजित समाराेहमा प्रधानमन्त्री ओलीले जनकपुरका खेलाडी तथा व्यवस्थापक लगायतलाई बधाईसहित सम्मान गर्नुभएको हाे ।
त्यसक्रममा उहाँले जनकपुरकाे जित सम्पूर्ण नेपाली र नेपाली क्रिकेटको जित भएकाे बताउनुभयाे । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न टाेलीलाई शुभकामना दिनुभयाे । विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुनसक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न पनि उहाँले खेलाडीलाई शुभकामना दिनुभयाे ।
आफू प्रधानमन्त्री भएपछि कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिसम्बन्धी पहिलो निर्णय गरेको स्मरण गराउँदै उहाँले यसका लागि बोलपत्र आह्वान भइसकेको बताउनुभयो । नेपालको खेल क्षेत्रको विकासका लागि आफ्नो र सरकारको प्रयास निरन्तर हुने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले जनाउनुभयाे ।


प्रतिकृया दिनुहोस