ट्रम्पसँग सीले भने– कोरोनाको प्रकोप रोक्न सक्षम छौं
एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कोरोना भाइरसको संक्रमणबारे फोनवार्ता भएको छ ।
सी र ट्रम्मबीच शुक्रबार फोनवार्ता भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फोनवार्तामा सी ले कोरोना भाइरसको प्रकोप रोक्न सक्दो प्रयास गरिरहेको ट्रम्पलाई बताएका थिए । ‘कोरोनाको प्रकोप चाँडै हट्ने विश्वास छ, प्रकोप रोक्न हामी सक्षम छौं’– सी को भनाइ छ ।
ट्रम्पले कोरोनाको प्रकोप सामना गर्न चीन सक्षम रहेको भन्दै यसमा सफल हुने विश्वास व्यक्त गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चीनमा देखिएको कोरोना भाइरसको प्रकोपबाट विश्व नै चिन्तित भएको भन्दै ट्रम्पले त्यसको सामना गर्न चीनसँग क्षमता रहेको बताइएकाे ह्वाइट हाउसले जनाएको छ ।
दुई नेताबीच कोरोनाका विषयमा आवश्यक सूचना आदानप्रदान गर्ने र आवश्यकता अनुसार अन्य बिषयमा समेत समन्वय राख्ने सहमति भएको बताइएको छ ।
फोनवार्तामा चीन र अमेरिकाबीच हालै सम्पन्न पहिलो चरणको व्यापार सम्झौताबारे पनि छलफल भएको थियो । उनीहरुले सो सम्झौता ठूलो उपलब्धि भएको भन्दै कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका बताइएको छ ।
सीले कोरोनाका कारण देशको आर्थिक विकासमा दीर्घकालीन असर नगर्ने पनि ट्रम्पलाई जानकारी गराए ।
चीनमा कोरोनाबाट निधन हुनेकोे संख्या ६ सय ३६ पुगेको छ । ३१ हजार संक्रमित भएका छन् ।


प्रतिकृया दिनुहोस