एनपीएल : रोकियो सुदूरपश्चिमको अपराजित यात्रा, चितवनसँग ३३ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग पराजित भएकाे छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएकाे खेलमा सुदूरपश्चिम चितवनसँग ३३ रनले पराजित भएको हाे ।
याेसँगै सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लागेको छ । चितवनले भने तेस्राे जित हात पारेकाे छ । सुदूरश्चिमले यसअघि खेलेका ३ वटै खेल जितेकाे थियाे भने समान खेलमा चितवनले २ मा जित र १ मा हार ब्यहाेरेकाे थियाे ।
चितवनले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १० बलअघि १ सय ३१ रन जाेड्दा अलआउट भयो । सुदूरपश्चिमका लागि इशान पाण्डेले ३५ रन बनाए ।
बलिङतर्फ चितवनका अमर राउटेला, जान निको लोफ्टी इटोन, रिजन ढकाल, र कुशल मल्लले समान २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ राेजेकाे चितवनले हसन इशाखिलकाे अर्धशतकीय पारिकाे मद्दतमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएकाे थियाे । चितवनका लागि इशाखिलले ६५ रन बनाए । रवि बोपाराले ३६, विपिन रावलले १७ र कुशल मल्लले १३ रन थपे ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगुलेइनले २ तथा ब्राण्डम म्याकमुलेन, दीपेन्द्रसिंह ऐरी र सैफ जैवले समान १-१ विकेट लिए ।


प्रतिकृया दिनुहोस