एनपीएल : जनकपुरकाे लगातार तेस्राे जित, पाेखरा ७ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लगातार तेस्राे जित हात पारेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएकाे खेलमा पाेखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै जनकपुरले जारी प्रतियाेगितामा तेस्राे जित हात पारेकाे हाे ।
पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्याे । जनकपुरका लागि लाहिरु मिलान्थाले ४५, जेम्स निशमले नटआउट ४०, आशिफ शेखले ३३ र हर्ष थाकेरले १३ रन बनाए ।
बलिङतर्फ पाेखराका विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएकाे थियो । पोखराका लागि मार्कस क्रिचलीले ३५, माइकल लियस्कले २५, आन्द्रियस गौस २०, रेमन रेफरले १७, दीलिप नाथले ११ र दिनेश खरेलले १० रन बनाए ।
बलिङतर्फ जनकपुरका ललित राजवंशीले ३ तथा किशोर महतो र मोहमद मोहसिनले समान १-१ विकेट लिए ।
यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८-८ विकेटले पराजित गरेकाे थियाे । प्रतियोगितामा पोखराको भने यो दोस्रो हार हो । पोखरा यसअघि चितवन राइनोजसँग ८७ रनले पराजित भएकाे थियाे ।


प्रतिकृया दिनुहोस